सुरक्षित गर्भपतन गराउँनेहरु बढे
डिलबहादुर सिंह / डोटी,भदौ २४
डोटीको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा यस आर्थिक बर्ष ०७७/०७८ को साउन देखि भदौको मध्य सम्म आइपुग्दा ४५ दिनको अवधीमा ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । मौवानगरदह स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस अघिका महिनाहरुको तुलनामा गर्भपतन गराउन आउने महिलाहरुको सँख्या लगभग चार गुणा बढी हो । सिनियर अनमी ओझाले भन्नुभयो,– ‘सुरक्षित गर्भपतन सेवाको लागि हाम्रो स्वास्थ्य सँस्था सुचिकृत भएको पाँच बर्ष भयो । सायल गाउँपालिकाबाट समेत आउनेहरुका कारण हाम्रो स्वास्थ्य सँस्थामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरु महिनामा बढिमा १० जना सम्म हुन्थे, यस पटक त अरु महिनाको तुलनमा बढी नै हो ।’ मौवा नगरदह स्वास्थ्य चौकीमा मात्र होइन पछिल्लो समयमा जिल्ला भरी नै सुरक्षित गर्भपतन गराउनेहरुको सँख्या बढ्दो क्रममा छ ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरै स्थानीय घर फर्किएका छन । बिभिन्न स्थानीय तहहरु सँग रहेको तथ्याँक अनुसार बैशाख यता मात्र डोटी जिल्लामा २० हजारको हाराहारीमा कामका लागि भारत गएकाहरु घर फर्किएका छन् । अझै पनि पुरुषहरुले परिवार नियोजनका साधनहरुमा ध्यान नदिने गरेका कारण पनि महिलाहरुले गर्भपतन गराउनु पर्ने बाध्यता आएको कतिपयको भनाइ छ । डोटी दिपायल सिलगढी नगरपालिकामा–९ कलेनाकी खिना साउदले भन्नुभयो,– ‘पुरुषहरुले अझै महिलाको पिडा बुझ्न सक्ने बाताबरण बनेको छैन, बर्षै बर्ष बच्चा जन्माए आफैलाइ अप्ठ्यारो त्यसैले गर्भपतन त गराउनै पर्यो । अरु उपाय पनि त छैन ।’
जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सुर्य बिष्टका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको सँख्या १ हजार १२७ मध्ये साउन महिनामा जिल्ला भरीका स्वास्थ्य सँस्थाहरुबाट १ सय ३२ जना महिलाहरुले सेवा लिएका थिए । चालु आर्थिक बर्षको साउन महिनामा मात्र जिल्ला भरी १ सय ७२ जना महिलाहरुले निशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् । यसै साउनमा सुरक्षित गर्भपतन गराउनेहरु मध्ये २ जना महिला २० बर्ष भन्दा कम उमेरका रहेका बताइएको छ ।
पछिल्लो समयमा मेडिकल तथा औषधी पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधीको प्रयोग गर्नेहरु धेरै छन् । सहि तथ्याँकको अभावमा यसरी मेडिकलबाट औषधी लिएकाहरुको अवस्था आकलन गर्न सकिने अवस्था छैन । डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको सँस्था सामुदायिक बिकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दिपा सिंह गर्भपतनलाइ परिवार नियोजनको साधनको बिकल्पको रुपमा हेर्न नहुने बताउनुहुन्छ । कार्यक्रम अधिकृत सिंहले भन्नुभयो,–‘दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ ।’
सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनि मान्यता दिएको हो । कानूनि प्राबधान हेर्ने हो भने १२ हप्ता सम्मको गर्भ महिलाको मञ्जुरिनामा लिई सुचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिने व्यवस्था गरिएको छ ।