किरण धामी
२९ फागुन, डोटी
डोटीको जोरायल गाउँपालिकामा फल्ने बासमती चामल प्रसिद्ध छ । जोरायलमा मात्रै पाइने रैथाने जातको ‘जोरायली बासमती धान’ को चामल खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण प्रसिद्ध छ । बासमतीले चर्चा पाएपछि पछिल्ला वर्षहरूमा यसको व्यापार बढेसँगै यहाँका किसान तथा व्यवसायीको आयआर्जनमा वृद्धि हुन थालको छ । जोरायलमा उत्पादन हुने बासमती धानको चामल डोटी जिल्लामा मात्रै नभएर कैलाली, कञ्चनपुर लगायतका अन्य जिल्लामा उपलब्ध हुन थालेको छ ।
बासमती चामलको लागि बजारको समस्या छैन । वर्षमा उत्पादन भएको जति सबै बिक्री हुन्छ । बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय मिलहरूले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन् ।
जोरायल गाउँपालिका वडा नम्बर ४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा ३० देखी ३५ लाखको कारोबार गर्छ । २०६९ सालमा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले बताउनुभयो । किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको व्यापारी मडैले बताउनुभयो । यो धानको चामल मीठो र मसिनो हुने भएकोले स्थानीय क्षेत्रमा पाइने चामलभन्दा केही बढी मूल्यमा खरिद विक्री हुने गरेको छ । ‘हामी किसानबाट बासमती धान प्रति किलो ६५ देखि ७० रुपैयाँमा खरिद गर्छौँ र चामल प्रति किलो १२५ देखि १३० रुपैमा विक्री गर्छौँ’ मिल व्यवसायी मडैले भन्नुभयो ।
मडै जस्तै बासमती चामलको व्यापार गर्दै आउनुभएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब दश लाख बराबरको कारोबार गर्नुहुन्छ । बोहरा दुई वर्ष यता जोरायली बासमती चामलको व्यापार गरिरहनुभएको छ । यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चामलको माग धेरै हुन्छ ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो अडर भएमा ५० किलो उपलब्ध गराउँछौँ ।’
मडै र बोहरा जस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन् । व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन् । जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगर लगायतका बजार हुन् । मिलमा प्याकिङ भएको चामल प्रायः होलसेलमा बिक्री हुन्छ ।
यो धान वर्षमा एक करोड भन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ । गाउँपालिकाले ‘जोरायली बासमती धान’ लाई अर्ग्यानिक ब्रान्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तार जस्ता काम गरिरहेको गाउँपालिका अब अर्ग्यानिक ब्रान्ड बनाउन लागेको अध्यक्ष ओझाले बताउनुभयो । अध्यक्ष ओझाले भन्नुभयो, ‘बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अर्ग्यानिक ब्रान्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ ।’
जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्याला लगायतका ठाउँमा यो धानको खेती गरिन्छ । पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसानहरू बीउ संरक्षणमा लागेका छन् ।
ब्रान्डिङ गरेर बासमती बेच्दै सहकारी
डोटीको पुर्विचौकी गाउँपालिकामा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था पनि बासमतीको ब्रान्डिङ गरेर बिक्री गर्दै आएको छ । सहकारीले दुई वर्षदेखि काडामान्डौ बासमती नामको प्याकेटमा प्याकिङ गरेर बासमती चामल बिक्री गरिरहेको सहकारीका सचिव जयन्द्र खड्काले बताउनुभयो । सहकारीले पुर्विचौकीको विभिन्न क्षेत्रमा फल्ने बासमती धानको चामल किसानबाट १३० रुपैयाँमा खरिद गरेर प्याकिङपछि १४० रुपैयाँमा बिक्री गर्दै आएको सचिव खड्काले बताए । सहकारीले ओखल तथा ढिकीमा कुटेको शुद्ध चामल मात्रै खरिद गर्दछ । गत वर्ष करिब ६ क्विन्टल बिक्री गरेको सहकारीका अनुसार यो वर्ष भने सहकारीले चामल खरिद गरेको छैन । बासमतीमा मिसावट भएका कारण चामल खरिद नगरिएको हो । सहकारीले यो वर्ष किसानहरूलाई बासमती धानको बिउ दिन लागेको सचिव खड्काले बताउनुभएको छ ।