किरण धामी
चैत १६, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउँमा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालनमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालय, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड) को आर्थिक तथा प्राविधिक सहयोगमा कृषि सिकाइ केन्द्र सञ्चालनमा ल्याइएको हो ।
वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानमा आधारित नेपालमा जलवायु नमुना कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन अनुकूल तथा उत्थानशील कृषि, प्राविधिक सिकाई केन्द्र सञ्चालनमा ल्याइएको सिप्रेडका कृषि प्राविधिक भुवन भट्टले जानकारी दिनुभयो । जलवायु परिवर्तन अनुकूल तथा उत्थानशील कृषिलाई जोड दिँदै डोटीको पुर्विचौकी गाउँपालिकामा एउटा कृषि प्राविधिक सिकाई केन्द्र सञ्चालनमा ल्याइएको प्राविधिक भट्टले बताउनुभयो ।
सिकाइ केन्द्रले किसानहरूलाई प्लास्टिक घर बनाएर तथा मल्चींग प्रविधिबाट कृषि गर्न प्रेरित गरिरहेको छ । विश्वमा बढ्दो जलवायु परिवर्तनलाई आत्मसात् गर्दै जलवायु अनुकूल प्रविधिहरूको प्रदर्शनी गर्ने, विषादी न्यूनीकरण गर्नुका साथै किसानहरूलाई कम्पोस्ट मल, झोल मल बनाउन सिकाउने, स्थानीय विषादी बनाउन र किराहरू मार्न प्रयोग गरिने प्रविधि (पासा) लगायतको ज्ञान दिइने भट्टले बताउनुभयो । उहाँले गाउँपालिका तथा यहाँका किसानहरूलाई सिकाइ केन्द्रको अवलोकन गराएर यस्तो कृषिलाई बढवा दिन आग्रह गरिएको बताउनुभयो ।
प्लास्टिक घर तथा मन्चिङ प्रविधिबाट तरकारी खेती गर्ने किसानहरूले राम्रो फाइदा लिन सक्छन् । सामान्यता गोलभेँडा, काँक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिँडी, काउली, बन्दा, फर्सी, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन पनि बढ्दो छ । प्लास्टिक घरभित्र वा मल्चींग प्रविधिबाट खेती गरेमा उत्पादनमा वृद्धि हुन्छ भने झारहरूको नियन्त्रण हुने, बिरुवाले वृद्धिको लागि अनुकूल वातावरण पाउने तथा मलखाद, विषादी, भिटामिनको खपत हुन्छ ।
जलवायु परिवर्तन अनुकूल तथा उत्थानशील कृषि कृषिबाट धेरै कुरा सिकेको पुर्विचौकी गाउँपालिका–४ का किसान भीम बहादुर खड्काले बताउनुभयो । कृषि सिकाई केन्द्र उहाँकै बारीमा स्थापना गरिएपछि २०६८ देखि व्यावसायिक तरकारी खेती गरिरहनुभएका खड्का उत्पादन बढ्नेमा ढुक्क हुनुहुन्छ । परम्परागत खेतीबाट वार्षिक डेढ लाख आम्दानी गर्दै आउनुभएका खड्काले यो प्रविधिको प्रयोग गरेको छोटो समयमै उत्पादनमा वृद्धि भएको बताउनु भयो । उत्पादनमा वृद्धि भएपछि आम्दानीमा पनि वृद्धि हुने उहाँले बताउनुभयो । हाल उहाँ झोल मल र कम्पोस्ट मल आफै उत्पादन गर्नु हुन्छ । खड्काले दुई ओटा प्लास्टिकका घर तथा केही मल्चींग प्रविधिबाट तरकारी खेती गर्नुभएको छ । उहाँले आलु, टमाटर, बन्दा, काउली, काँक्रा, प्याज लगायत अन्य विभिन्न साग उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।
पुर्विचौकि गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एक वडा एक सिकाई केन्द्र, एक समूह एक डेमो बनाउने बताउनु भयो । केही समय अघि सिकाइ केन्द्रको अवलोकन गर्दै उहाँले गाउँपालिका किसानहरूलाई व्यावसायिक बनाउने गरी यस्तो किसिमको कृषिलाई विस्तार गर्दै लगिने बताउनुभयो ।