नेकपाको एकता र अवको वाटो

वि . स. २००६ सालमा स्थापना भएको नेकपाले २०१५ सालको आम निर्वाचनमा १ लाख २९ हजार ४२ मत सहित जम्मा ४ सिट मात्र जितेको थियोे । त्यतिबेला संसदमा दुई तिहाई सिट जितेको नेपाली काङ्ग्रेसले ६ लाख ६६ हजार ८ सय ९८ मत प्राप्त गरेको थियोे । त्यस यताका कयौं निर्वाचनहरुमा नेकपा वा यसका कुनै पनि घटकले कहिल्यै पनि वहुमत ल्याउन सकेको थिएनन् । वि.स.२०५१ सालको निर्वाचनमा तत्कालीन एमाले पहिलो दल र ०६४ को संविधानसभामा तत्कालीन नेकपा (माओवादी ) पहिलो दलसम्म वनेपनि वहुमत सुनिश्चित गर्न सकेका थिएनन् । तर वाम एकता गरेर २०७४ को आम निर्वाचनमा होमिएपछि नेकपाले नयाँ इतिहासको रचना गर्दै पहिलोपटक सामान्य वहुमत मात्र हैन झण्डै दुई तिहाई ( दुई तिहाई पुग्न १० सिट कम ) नै प्राप्त गर्न सफल भयो । दुई ठुला वाम दल नमिलेको भए गत प्रतिनिधि सभाको निर्वाचनमा पनि काङ्ग्रेस पहिलो दल वन्ने सम्भावना नै प्रवल थियोे । किनभने निर्वाचनको मतको प्रवृत्ति हेर्दा वाम गठवन्धनको देशब्यापी लहर आउंदा समेत समानुपातिक तर्फ एमालेले काङ्ग्रेसभन्दा ४५ हजार १ सय ५ मत मात्र वढि मत ल्याएको थियोे । उक्त निर्वाचनमा एमालेले जम्मा ३१ लाख ७३ हजार ४ सय ९४ मत अनि कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको देखिन्छ । वाम गठवन्धन नहुंदो हो त पहिलो हुनेले जित्ने प्रत्यक्ष तर्फको निर्वाचनमा झण्डै चार दर्जन सिटमा एमालेलाई काङ्ग्रेसले उछिन्ने थियोे । वाम गठवन्धन नहुंदा वन्न सक्ने अर्कै गठवन्धनले त्यसलाई थप प्रभावित गर्दथ्यो । त्यसो हुने वित्तिकै काङ्ग्रेस करिव करिव पहिलो दल हुने तिर जान सक्थ्यो । यसरी वाम गठवन्धनले मुलुकको राजनीतिक मोड र चित्र नै वदलियो । वाम एकताकै कारण नेकपाले संघमा शक्तिशाली सरकार , सात प्रदेश मध्ये ६ वटा प्रदेशमा एकल सरकार र ७५३ वटा स्थानीय तह मध्ये वहुमत स्थानमा नेतृत्व गर्ने अवसर प्राप्त गर्यो । उपरोक्त तथ्यहरुले वाम एकताको अर्थ , महत्त्व र ऐतिहासिकतालाई अभिब्यक्त गर्दछन् ।
एउटै दलको रुपमा स्थापना भएको नेकपामा डेढ दशक नपुप्दै ०१९ सालवाट शुरु भएको फुट र विभाजनले शक्तिशाली कम्युनिष्ट आन्दोलन निर्माण हुन सकिरहेको थिएन । एकातिर आफैं भित्रको फुटपरस्त गतिविधि र अर्कोतिर निरङकुश पंचायति ब्यवस्थाको दमनका कारण ०४६ सालअघिसम्म लगभग कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थावाट नै गुज्रिएको थियोे । यद्यपि पंचायतकाल वरपरवाटै नेपालको कम्युनिष्ट आन्दोलनमा दुई मुख्य भङ्गलाहरु देखापर्दै गएका थिए । २०२८ सालको झापा विद्रोहको पृष्ठभूमिमा पुनर्गठित कोअर्डिनेसन केन्द्र , नेकपा ( माले ) हुँदै विकसित भएको कम्युनिष्ट आन्दोलनको एउटा भङ्गालोको रुपमा नेकपा ( एमाले ) विकसित भयो । त्यसैगरी पुनर्गठित केन्द्रीय न्युक्लियस , नेकपा ( चौथो महाधिवेशन ) , मोटो र पातलो मषाल , एकता केन्द्र , नेकपा ( माओवादी ) हुँदै अर्को भङ्गालोको रुपमा नेकपा ( माओवादी केन्द्र ) को विकास भयो ।
५० को दशकसम्म आइपुग्दा तत्कालीन एमालेले आफुलाई शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको धारमा उभ्यायो भने तत्कालीन माओवादीले आफुलाई सशस्त्र सङ्घर्षको धारमा उभ्यायो । एमालेले मुख्यतः सहर केन्द्रित जनआन्दोलन र जनपरिचालनलाई आफ्नो मुख्य वाटो वनायो । उता माओवादीले ग्रामीण वर्गसंघर्ष केन्द्रित सशस्त्र सङ्घर्षलाई अाफ्नो मुख्य वाटो वनायो । कालान्तरमा दुवै वाम दल नेपाली राजनीतिमा जबरजस्त शक्तिको रुपमा उदाए । उनीहरूले नेपाली जनताको निकै ठुलो र शक्तिशाली हिस्साको प्रतिनिधित्व गर्न थाले । दुवैले अाफुलाई वहुसंख्यक मजदुर, किसान र तल्लो वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट दलको दावी गर्दै आए । यसवाट स्वाभाविक रुपमा वाम जनमत निरन्तर विभाजित भइरह्यो । किनभने दुवैको भोट वैंक मुलतः एउटै थियोे । पछिल्ला चुनावी तथ्याङ्कहरु हेर्दा पनि स्पष्ट रुपमा त्यही परिदृश्य देखियो । वाम जनमत विभाजित हुंदा अर्को मुख्य प्रतिस्पर्धी दल नेपाली काङ्ग्रेसले लाभ लिइरह्यो । एक्लै प्रतिस्पर्धा गर्दा कहिले एमाले त कहिले माओवादी पहिलो दल पनि भए । तर वाम दल विचको तानातानले गर्दा मुश्किलले पहिलो दल सम्म वनेपनि त्यहाँवाट उकालो लागेर वहुमत ल्याउने स्थिति देखिएन । २०५१ सालमा पहिलो दल वनेको एमाले २०५६ मा पुग्दा दोस्रो मै झर्यो। २०६४ मा पहिलो दल वनेको माओवादी पुन: ७० मा पुग्दा तेस्रो दल वन्यो । यसरी हेर्दा नेपाली कम्युनिष्ट आन्दोलनमा ‘ भाइ फुटे गवार लुटे ‘ भन्ने उखान राम्रैसित चरितार्थ भइरह्यो । त्यसको फाइदा विपक्षी काङ्ग्रेस पार्टीले निरन्तर लिइरह्यो ।
अर्कोतिर नेपालका कम्युनिष्टहरुको स्थापनाकालदेखि नेपाली समाजको चरित्र अर्धऔपनिवेशिक र अर्धसामान्तवादी रहेको साझा निष्कर्ष थियोे । समाजवाद तर्फ संक्रमण गर्नु अघि अर्धऔपनिवेशक र अर्धसामन्तवादी अवस्थाका मुलुकमा ‘ जनवादी क्रान्ति ‘ गरिनुपर्ने सवैको साझा ठहर थियोे । कम्युनिष्ट भाष्यमा यस चरणको क्रान्तिलाई काहीँ जनवादी क्रान्ति , काहीं नयाँ जनवादी क्रान्ति , काहीँ पुजीवादी जनवादी क्रान्ति , काहीं जनताको वहुदलीय जनवादी क्रान्ति वा एकाइसौं शताब्दीको जनवादी क्रान्ति आदि जे नामले पुकारे पनि सारत : त्यो उहीँ जनवादी क्रान्ति नै हो भन्नेमा पनि सवैको मतैक्यता थियोे । तत्कालीन एमाले नेतृत्वमा सञ्चालित शान्तिपूर्ण सङ्घर्ष , तत्कालीन माओवादी नेतृत्वमा सञ्चालित दस वर्षे जनयुद्ध र सवै मिलेर गरेको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र वहाली भयो । यस दौरानमा सामन्तवादका तमाम जरा नङ्ग्रा मात्र काटिएनन् , त्यसको राजनीतिक प्रतिनिधिको रुपमा रहेको राजतन्त्रको समेत अन्त्य भयो ।

तत्कालीन एनेकपा ( माओवादी ) को ०६९ माघमा हेटौंडामा सम्पन्न आठौं महाधिवेशन र तत्कालीन नेकपा ( एमाले ) को ०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले नेपालमा आधारभुत रुपले जनवादी क्रान्ति सम्पन्न भएको एउटै साझा निष्कर्ष निकाले । यो साझा राजनीतिक र वैचारिक धरातलले दुई वाम दललाई एकै ठाउँमा पुर्याउन निकै ठुलो मद्दत गर्यो । यस संगै इतिहासमा पहिलोपटक नेपाली जनताले सार्वभौमसत्ताको पुर्ण प्रयोग गर्दै आफ्नो संविधान आफैं जारी गरे । संविधानमा नै शिक्षा , स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हकको रुपमा ग्गारेन्टी गर्दै नेपाललाई समाजवादउन्मुख राज्यको रुपमा समेत परिभाषित गरियो ।
आधारभुत रुपमा र मुल रुपमा पूरा भएको जनवादी क्रान्तिका वांकी कार्यभार पूरा गर्दै समाजवाद निर्माणका आधार तयार गर्नु आजको मुल वाटो हो । पूरा भइसकेको जनवादी क्रान्ति तिरै फर्कने नभएर समाजवादतिर अघि वढ्ने नयाँ र उपल्लो चरणको कार्यदिशा आजको आवश्यकता हो । यस विचमा अधिकार प्राप्तिको लडाइँमा हासिल भएका तमाम उपलब्धिलाई संस्थागत गर्दै समाजवाद निर्माणको श्रृङखलाबद्ध आधारको खोजी गर्नु पर्दछ । राजनीतिक स्थिरतालाई सुनिश्चित गर्दै सामाजिक न्याय सहितको विकास र समृद्धिको अर्जुनदृष्टि आजको निर्विकल्प गन्तब्य हो । सुखी नेपाली र समृद्ध नेपालका निम्ति शक्तिशाली नेकपा चाहिन्छ । जनता र कार्यकर्तातिर फर्किएको सिद्धान्तनिष्ठ र एकतावद्ध नेकपा मात्र शक्तिशाली हुन सक्दछ । नेकपा सामु उत्पन्न वर्तमान चुनौतीदेखि तर्सिएर कतिपयले यो एकता नै गलत थियोे भन्ने गरेको पनि सुनिन्छ । यो सर्वथा गलत वुझाई हो ।
समस्या एकता भएर उत्पन्न भएको हैन । समस्या त एकतापछि वनेको भीमकाय पार्टीलाई एकीकृत ढंगले हांक्न आवश्यक पर्ने नयाँ राजनीतिक कार्यक्रम र नयाँ संगठनात्मक स्वरुपको विकास नगरेर उत्पन्न भएको हो । यसको राजनीतिक , वैचारिक र सांगठनिक हल आउंदो महाधिवेशनमा खोजिनुपर्दछ ।
विद्यमान परनिर्भर दलाल पुजीवादलाई समाप्त पारेर आत्मनिर्भर र स्वाधीन राष्ट्रीय पुजीवादको विकास गर्दै समाजवाद निर्माणको आधार तयार गर्ने मुल वाटोमा अवको महाधिवेशन केन्द्रित हुनुपर्दछ ।
(बस्नेत नेकपाका युवा नेता हुन् )
