
रामहरि ओझा
भदौ २८, डोटी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमा यस प्रदेशमा दुई हजार आठ सय ६२ जनाले सम्बन्ध बिच्छेद्का लागि अदालतमा फिराद दर्ता गरेका छन् ।
प्रदेशभित्रका नौ वटै जिल्ला अदालतले उपलब्ध गराएको सूचना अनुसार गत आर्थिक वर्ष ९०८०/०८१० एक हजार ९६ जनाले सम्बन्ध विच्छेद गरिपाउन अदालतमा फिराद दर्ता गरेका हुन् । यस्तै, आर्थिक वर्ष ०७९/०८० मा नौ सय ७० र ०७८/०७९ मा सात सय ९६ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका थिए ।
कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा एक हजार चार सय १२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । जसमध्ये एक हजार ४८ महिलाहरूले सम्बन्ध विच्छेद गरी पाउन निवेदन दिएका छन् । यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा तीन सय ७०, ०७९/०८० मा चार सय ९० र ०८०/०८१ मा पाँच सय ५२ जनाले सम्बन्ध विच्छेदका लागि फिराद दर्ता गरेका थिए । सोमध्ये एक हजार दुई सय ३९ मुद्दा फर्छ्यौट भई एक सय ७३ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका अदालतमा कार्यरत पुष्पा जोशीले जानकारी दिइन् ।
तीन वर्षको अवधिमा बैतडी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ६८ मुद्दा दर्ता भएका छन् । यसमध्ये ५० मुद्दा महिलाले दर्ता गराएका छन् । अदालतका सूचना अधिकारी नरेन्द्रवहादुर बोहराका अनुसार जिल्लामा पुरुष फिरादीको सङ्ख्या पनि बढ्दो छ । ०७८/०७९ मा दुई जना पुरुष फिरादी रहेकामा ०७९/०८० मा सात र ०८०/०८१ मा नौ जना पुरुषले फिराद दर्ता गरेका छन् ।
यस्तै, बाजुरा जिल्ला अदालतमा तीन वर्षको अवधिमा ९३ सम्बन्ध बिच्छेद्का मुद्दा दर्ता भएका छन् । यो अवधिमा ७२ महिला र २१ पुरुषले फिराद दर्ता गराएका अदालतका निमित्त श्रेष्तेदार चेतबहादुर बोहराले जानकारी दिए । यस अवधिमा दर्ता भएका मुद्दामध्ये ८३ फर्छ्यौट भई १० बाँकी रहेका बोहराले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा डडेल्धुरा जिल्ला अदालतमा दर्ता भएका देखिएका छन् । अदालतका सूचना अधिकारी राजेन्द्रवहादुर चन्दका अनुसार यस जिल्लामा तीन वर्षको अवधिमा महिलाका तर्फबाट ७८ र पुरुषका तर्फबाट ५६ गरी एक सय ३४ फिराद दर्ता भएका छन् । दर्ता भएका फिरादमध्ये एक सय १८ फर्छ्यौट भई १६ बाँकी रहेका छन् ।

डोटीमा तीन वर्षको अवधिमा ८२ जनाले सम्बन्ध बिच्छेद्का लागि निवेदन दिएका छन् । डोटी जिल्ला अदालतका श्रेष्तेदार गम्भीर राना मगरले दिएको जानकारी अनुसार यस जिल्लामा ५१ महिला र ३१ पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । सो अवधिमा परेका फिरादमध्ये ७६ फर्छ्यौट भई पाँच बाँकी रहेका मगरले बताए ।
अछाम जिल्ला अदालतमा यस अवधिमा ६१ महिला र २८ पुरुष गरी ८९ जनाले सम्बन्ध विच्छेद गरिपाउन माग गर्दै फिराद दर्ता गरे । सोमध्ये ६९ मुद्दा फर्छ्यौट भई २० चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको अछाम जिल्ला अदालतका सूचना अधिकारी गुपतीप्रसाद गौलीले जानकारी दिए ।
यस्तै, विगत तीन वर्षको अवधिमा बझाङ जिल्ला अदालतमा एक सय चार जनाले सम्बन्ध विच्छेद गरिपाउन निवेदन दिएका छन् । जसमध्ये महिला ५६ र पुरुष ४८ रहेका अदालतका श्रेष्तेदार हेमराज तिमिल्सैनाले जानकारी दिए । उनका अनुसार दर्ता भएका फिरादमध्ये ८७ फर्छ्यौट भई १७ बाँकी रहेका छन् ।
दार्चुला जिल्ला अदालतमा सो अवधिमा सम्बन्ध बिच्छेद्का एक सय २७ फिराद दर्ता भएका छन् । यी फिरादमध्ये ८६ महिलाले दर्ता गरेका हुन् । दर्ता भएका फिरादमध्ये एक सय १५ मुद्दा फर्छ्यौट भई १२ नयाँ आर्थिक वर्षका लागि जिम्मेवारी सरेका अदालतका सूचना अधिकारी गणेशप्रसाद विष्टले जानकारी दिए ।
कञ्चनपुर जिल्ला अदालतमा यस अवधिमा सात सय ५३ सम्बन्ध बिच्छेद्का मुद्दाहरू दर्ता भएका छन् । कञ्चनपुर जिल्ला अदालतले दिएको सूचनामा फिराद दाबी गर्ने महिला र पुरुषको छुट्टै विवरण उल्लेख छैन । यस अदालतमा ०७८/०७९ मा दुई सय २१, ०७९/८० मा दुई सय ५२ र ०८०/०८१ मा दुई सय ८० मुद्दा दर्ता भएको अदालतबाट उपलब्ध गराइएको सूचनामा उल्लेख छ । दर्ता भएका फिरादमध्ये ६ सय ६३ फर्छ्यौट भएका छन् ।
पति वा पत्नीले एक अर्कालाई शारीरिक तथा मानसिक यातना दिने गरेको, बालबालिकाको हेरचाह नगर्ने गरेको, पत्नी सहमति बिना माइतीघर गएर लामो समय बस्ने गरेको, लामो समयदेखि सहमति बिना अलग अलग बस्ने गरेको फिराद बादी रहेको अदालतले जनाएको छ ।
यस्तै पारिवारिक विवाद, महिलामाथि हुने घरेलु हिंसा, परपुरुष वा महिलासँग यौन सम्बन्ध भएको, पुरुषले अर्को विवाह गरेको जस्ता कारणले सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगेको भनी फिरादा दाबी आउने गरेको अदालतहरूबाट प्राप्त सूचनामा उल्लेख छ ।
