रामहरि ओझा
असोज ११, डोटी । डोटीको केआई सिंह गाउँपालिकामा गत आर्थिक वर्ष (२०८०/०८१) मा चार सय ९८ बालबालिकाहरू जीवित जन्मिने अनुमान गरिएको थियो । सोही अनुसार स्वास्थ्य सेवाका सूचकहरूमा लक्ष्य निर्धारण गरिएको थियो । तर अनुमानित लक्ष्य भन्दा धेरै कम बालबालिकाहरू जन्मेपछि अन्य सूचकहरूमा पनि लक्ष्य अनुसारको प्रगति भएन ।
‘गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा दुई सय ४५ र पालिकाभन्दा बाहिरका स्वास्थ्य संस्थामा एक सय १३ बालबालिकाहरूको जन्म भएको छ’ पालिकाको स्वास्थ्य शाखा संयोजक नवीन माझी भन्छन् ‘हामीले घरघरमै गएर सूचना लिँदा पनि गाउँपालिकामा जन्मेका बालबालिकाको सङ्ख्या यत्ति हो ।’ उनी भन्छन् ‘यसले गर्दा गर्भवती जाँच, खोप, सुत्केरी जाँच, संस्थागत सुत्केरी हुनेको प्रतिशत जस्ता लक्ष्यहरू पुरा भएनन् ।’
शिखर नगरपालिकाको अवस्था पनि उस्तै छ । गत आर्थिक वर्षमा ६ सय ७७ बालबालिकाहरू जीवित जन्मिने अनुमानित लक्ष्य भए पनि नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरू र बाहिरका स्वास्थ्य संस्थाहरूमा समेत गरी जन्मेका बालबालिकाहरूको सङ्ख्या तीन सय ६४ मात्रै रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर खत्री बताउँछन् । ‘खोप लगाउन कुनै पनि बालबालिका छुटेका छैनन्, हामीले घरमै गएर खोजेर खोपेका छौँ’ खत्री भन्छन् ‘तर लक्ष्य अनुसारको उपलब्धि देखिँदैन, किनकि सेवाग्राही नै छैनन् ।’
यो समस्या केआई सिंह गाउँपालिका र शिखर नगरपालिकाको मात्रै हैन, जिल्लाका सबै स्थानीय तहहरूले झेल्दै आएका छन् । ‘स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा क्षेत्रभित्र लाइन लिष्टिङ्ग गरेका छन्, स्वास्थ्य सेवा प्राप्त गर्नु पर्ने सबैले पाएको देखिन्छ’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन् ‘कुनै पनि सेवाग्राही छुटेका छैनन् तर अनुमानित लक्ष्य नै नमिलेका कारण सो अनुसारको उपलब्धि नदेखिएको हो ।’
लक्ष्य अनुसारको उपलब्धि नदेखिनुमा बसाइसराइ प्रमुख कारण देख्छन् केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माझी । उनी भन्छन् ‘केही मान्छेहरू व्यवहारिक रूपमा बसाई सरेका छन् तर कानुनी रूपमा बसाइसराइ गरेका छैनन्, केही रोजगारीका लागि देशभित्रै वा विदेशमा छन् । त्यसैले लक्ष्य अनुसारको उपलब्धि देखिँदैनन् ।’ पछिल्लो समयमा छोराछोरी पढाउने भन्दै शहरतिर जाने गरेका कारण पनि उलव्धी कम देखिएको माझीको भनाई छ । उनी सेवा पाउनु पर्ने कुनै पनि व्यक्ति नछुटेको दाबी गर्छन् ।
शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खत्रीको भनाई पनि उस्तै छ । ‘पहिले पहिले पुरुष मात्रै रोजगारीका लागि भारत जाने गरेका थिए, अचेल त श्रीमान्–श्रीमती दुवै जान्छन्’ खत्री भन्छन् ‘उतै बच्चा जन्मिन्छ, केही दिनका लागि घर आउँछन्, फेरी उतै जान्छन् ।’ उनी सिजनल बसाई सराइले पनि लक्ष्य प्राप्ति गर्नमा समस्या भएको बताउँछन् । पछिल्लो समयमा शिक्षित दम्पत्तिहरुले एक मात्रै सन्तान जन्माउने गरेकाले पनि अनुमानित लक्ष्य र वास्तविकतामा फरक पर्ने गरेको उनी बताउँछन् । उनले नियमित खोप तालिकामा भौगोलिक दुरीका कारण एकाध बच्चा छुटेको भए पनि आफूहरूले खोजेर खोप्ने अभियानबाट खोप पुरा गर्ने गरेको बताउँछन् ।
जिल्लाको जनसङ्ख्याको आधारमा स्वास्थ्य सेवा विभागले तथ्याङ्क शास्त्रीय विधिको प्रयोग गरी लक्ष्य निर्धारण गरेर पठाउने गरेको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी बताउँछन् । ‘जनसङ्ख्याको आधारमा लक्ष्य निर्धारण हुन्छ, तर उच्च बसाइसराइ त्यो लक्ष्य मेल खाँदैन’ मलासीले भने ‘त्यसैले लक्ष्य अनुसारको उपलब्धि नदेखिने हो ।’ उनी गत आर्थिक वर्षमा जिल्लामा चार हजार ७ सय ६० जीवित बालबालिकाहरू जन्मिने स्वास्थ्य सेवा विभागको अनुमानित लक्ष्य भए पनि जम्मा दुई हजार ६ सय ३१ बालबालिका मात्रै जन्मेको बताउँछन् । स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लाको लक्ष्य प्रगतिको विषयमा जानकारी गराउँदै मलासीले लक्ष्य अनुसारको उपलब्धि नदेखिनुमा बसाई सराईका साथसाथै सुरक्षित गर्भपतन पनि एक कारण भएको बताए ।