सुदूरपश्चिममा भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको मृत्यु दर बढ्यो, सरकार बेखबर
धनगढीः कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० की २८ वर्षीया जानकी बोहराको पेटमा ७ महिनाको बच्चा थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंसिर २४ गते साँझ सेती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो।
उनमा मंसिरमा २५ गते कोरोना पुष्टि भएपछि धनगढीको कोरोना अस्थायी अस्पतालमा भर्ना गरियो। उपचारका लागि भेन्टिलेटर आवस्यक परे पनि भएका ६ वटामा कुनै पनि खाली नहुँदा आफन्तले बोहरालाई थप उपचारका लागि कोहलपुर लगे पनि उपचारको क्रममै उनको मृत्यु भयो। धनगढीमै भेन्टिलेटरसहितको सुविधा भएको भए आमा र बच्चालाई बचाउन सकिने आशा आफन्तजनको थियो।
धनगढीको तारानगरका रामचन्द्र भट्टलाई मंसिर २७ गते कोरोना पुष्टि भयो। उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई सोही दिन सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताल भर्ना गरियो। तर अस्पतालले त्यो दिन आइसीयू र भेन्टिलेटर खाली नभएको भन्दै अन्यत्र लैजान भन्यो। उपचारका लागि अन्यत्र लैजान नपाउँदै भट्टको सोही दिन मृत्यु भयो। यदि समयमै भेन्टिलेटर सेवा पाएको भए उनलाई बचाउन सकिन्थ्यो कि भन्ने विश्वास परिवारजनलाई भएको मृतकका भाई नवराज भट्टले बताए।
डोटी घर भएर धनगढीको फाया नेपालमा कार्यरत सच्चिदानन्द जोशीलाई मंसिर २२ गते कोरोना पुष्टि भयो। जोशी ३ दिन एकान्तवासमा घरमै बस्नु भयो। मंसिर २५ गतेका दिन स्वासप्रश्वासमा समस्या हुँदा जोशीलाई धनगढीको कोरोना अस्थायी अस्पतालमा भर्ना गरियो। तर भेन्टिलेटर खाली नहुँदा उनलाई कोरोना अस्थायी अस्पतालमा उपचार गर्न नसकिने अवस्था आउँदा २६ गते बिहान नेपालगञ्ज रेफर गरियो। त्यतिबेलासम्म जोशीलाई कडा खाले निमोनियाले च्यापी सकेकोले नेपालगञ्जमा उपचार सम्भव नभएपछि ३० गते हेलिकप्टरबाट काठमाण्डौ लगियो। अहिले जोशी ग्राण्डी अस्पतालमा उपचार गराइरेको जोशीका सहकर्मी शेरबहादुर बस्नेतले दिनेशखबरलाई बताए।
यी केही प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय सुदूरपश्चिममा भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रममा बढेको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिकसहित ५ अस्पतालमा २३ वटा भेन्टिलेटर रहेको तथ्यांक सार्वजनिक गर्दे आएको छ। तर प्रदेशमा भेन्टीलेटर अभाव भएपछि गम्भीर अवस्थाका कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो। तर अस्पतालहरुमा उपकरण थप्नतर्फ भने ध्यान दिइएको छैन। सेती प्रादेशिक अस्पतालमा उपलब्ध ५ वटा भेन्टिलेटरको भर पर्दा विरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालमा सीमित उपकरण हुँदा उपचारमा समस्या भएको बताए।
प्रदेशभर झन्डै २८ लाख जनसंख्या रहेको भएपनि प्रदेशभर आइसीयू बेड र भेन्टिलेटरको संख्या भने निकै न्यून छ। प्रदेशभरका अस्पताहरुमा हाल २७ बेड आइसीयू र २३ भेन्टिलेटर रहेको तथ्याङ्कले देखाएको छ।
दिनेस खबर