एक गाग्री पानीका लागि एक घण्टाको यात्रा
रामहरी ओझा / डोटी
साउँदकाँडाकी पाँच बर्षीया बालिका निर्जना साउँदको पिठ्यूमा पाँच लिटरको पानीको ग्यालेन छ । दुपट्टाको नाम्लो वनाएर बोक्दै गरेकी ति बालिकाको पानी बोक्ने रहर भने होईन । गाउँमा खानेपानीको अभाव भएपछि आमालाई सघाउन उनी घरबाट झण्डै आधा घण्टा लाग्ने सिमल्ला खोलाबाट पानी बोक्दैछन् । यो उनको दैनिकी हो ।
डोटी, आदर्श गाउँपालिका–२ साउँदकाँडाकी २२ बर्षीया मौरी साउँदलाई सुत्केरी भएको जम्मा १२ दिन भयो । उनी नुहाउन धुन करीव एक घण्टाको दुरीमा रहेको खल्लेखोला जान्छन् । मुहान पुगी नुहाई धोई अरी घर पुग्दा नवजात शिशुलाई छोडेको झण्डै तीन घण्टा भईसक्छ । उनी हतार हजारमा घर पुग्छिन् ।
२० बर्षीया पवित्रा साउँद सुत्केरी भएको १५ दिनभयो । उनले पहिलो सन्तानको रुपमा छोरी जन्माईन् । सुत्केरी अवस्थामा आराम गर्नु पर्ने थियो तर पानीको समस्याले उनी आराम गर्न पाउँदिनन् । लुगाफाटोसंगै प्लाष्टिकको ग्यालेन बोक्दै एक घण्टाको दुरीमा रहेको खल्लेखोला जानु पर्ने वाध्यता पवित्रालाई पनि ।
निर्जना, पवित्रा र मौरी प्रतिनिधि महिला मात्रै हुन् । आदर्श गाउँपालिका–२ साउँदकाँडा र बाहुनकाँडाका सयौं महिला तथा बालबालिकाहरुले भोग्ने पीडा यही हो । ‘दुवै गाउँ लगाएर करीव दुई सय २० परिवार छ, दुवै गाउँमा पानीको समस्या यस्तै हो’ स्थानीय बिजय ओझा भन्छन् ‘बिहान ४ वजे उठेर पानीका लागि लाईन बस्नु पर्छ ।’
दुवै गाउँलाई लक्षितगरि बर्षौं अगाडि अलैची स्वाडा भन्ने ठाउँबाट खानेपानी ल्याईएको थियो । मुहान सुक्दै जानु र जनसंख्या बढ्दै जादाँ उक्त पानीले खानलाई पनिन पुग्ने गरेको स्थानीय भोजवहादुर साउँद वताउँछन् । ‘एक परिवारले मुस्किलले २० लिटर पानी भर्न पाउँछन् एक दिनमा’ भोजवहादुर भन्छन् ‘अरु पानीका लागि त आधा घण्टाको दुरीमा रहेको सिमल्ला खोला जानु पर्छ ।’ सिमल्ला खोलामा पनि पानी थोरै भएका कारण लाईन बस्नु पर्ने उनको भनाई छ । उनी थप्छन् ‘नुहाउन धुनका लागि खल्ले खोलानै जानु पर्छ ।’
खानेपानीकै कारण धारामा दिनहुँ जस्तो झगडा हुने गरेको वताउँछिन् स्थानीयलक्ष्मी साउँद । उनी भन्छिन् ‘पानीकै लागि राती ४ वजे उठेर भिरालो बाटोमा दौडिनु पर्छ, अध्याँरोमा लडेर गाग्री फुट्ने गरेका छन् ।’ अध्याँरोमै पानी लिन जानु पर्ने भएका कारण आफुलाई असुरक्षित महसुस भईरहेको लक्ष्मीको भनाई छ । उनी कोरोनाको समयमा खानेपानीकै कारण जोखिम बढेको पनि सुनाउँछिन् । ‘भारतबाट आएका मान्छेहरु घरमै आईसोलेसनमा बसेका छन्, उनीहरुको पानील्याउने, नुहाउने ठाउँ पनि त्यही पँधेरा हो’ लक्ष्मीले भनिन् ‘यसले झनत्रास फैलिएको छ ।’ जसरी भए पनि खानेपानीको व्यवस्था गरिदिनु पर्ने लक्ष्मीको माग छ ।
खानेपानीका लागि प्रयास नभएको भने होईन् । सुदूरपश्चिम प्रदेश सरकारले २० लाख रुपैयाँ वजेट समेत बिनियोजन गरेको छ, तर मुहान नभएका कारण योजना निर्माण हुन सकेको छैन । ‘मुहानहरु गाउँ भन्दा तल छन्, तिगाउँमा चढ्दैनन्’ भोजवहादुर भन्छन् ‘त्यो मुहानले धान्दैन पनि ।’ उनी पानी ल्याउनका लागिकि त सेती नदीको पानी लिफ्ट गर्नु पर्ने कि डिप बोरिङ्ग गर्नु पर्ने वताउँछन् । त्यसका लागि प्रदेश सरकारले छुट्याएको २० लाखले नपुग्ने उनले वताए ।
मौवागाउँको तलनौगाड खोलाको पानी ल्याउने गरि छलफल भएको तर जग्गाधनीसंग कुरा नमिल्दा समस्या भएको वताउँछन् बिजयओझा । ‘जसको जग्गामा मुहान छ,उनीसंग त नौ लाख रुपैयाँमा कुरा भएको थियो’ ओझा भन्छन् ‘तर अन्य जग्गाधनीहरुले आफ्नो भोगाधिकारको कुरा उठाउँदै बिवाद गरेपछि त्यो सम्वभ भएन ।’ अव कि त डिप बोरिङ्गनै उपयुक्त हुने, कि सेतीकै पानी तान्नु पर्ने वाहेक अर्को कुनै बिकल्प नरहेको ओझाको भनाई छ ।
उक्त ठाउँमा पानीको समस्या भएको गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकाया स्वीकार्छन् । उनले पानीको स्रोत नभएर योजना वनाउन भईरहेको वताए । तत्कालका लागि थोरै भए पनि गाउँपालिकाको केन्द्र मौवानगरदहमा डिप बोरिङ्गबाट निकालेको पानीबाटै भएपनि लैजाने गरि प्राविधिकहरुलाई सम्भाव्यता अध्ययनगर्न लगाईएको अध्यक्ष रोकाया वताउँछन् । उनले भने ‘स्रोतको खोजी गर्नका लागि स्थानीयबासीहरु लागिरहेका छन् ।’