
चैत्र ११, बाजुरा
बाजुराको त्रिवेणी नगरपालिकालाई बाल मैत्री नगर बनाउन प्रतिबद्धता गरेका छन् । बालबालिका तथा युवाको समग्र विकासका लागि नगरपालिकाले ५ बूँदे प्रतिबद्धता व्यक्त गरेको हो । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तरगत शुक्रवार नगरपालिकाका उपाध्यक्ष राधिका सुनारको अध्यक्षतामा भएको स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमबाट पाँच बुँदे साझा प्रतिबद्धता गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकारले योजना तर्जुमा प्रक्रियामा युवा तथा बालबालिकाहरूलाई सहभागिता र बजेट विनियोजनको अभ्यासको बारेमा पनि छलफल गरिएको थियो । छलफलको क्रममा योजना निमार्ण तर्जुमा प्रक्रियामा युवा बालबालिकाहरूको सहभागिता नगरिएको, युवा र बालबालिकाको आवश्यकता अनुसार कार्यक्रम नगरिएको विषयमा बालबालिकाहरूले गुनासो समेत गरेका थिए । सामूहिक छलफल पश्चात् नगरपालिकाले उक्त प्रतिबद्धता गरेको हो ।

स्थानीय निकायको योजना निमार्ण तर्जुमा प्रक्रियामा युवा तथा बालबालिकाहरूको संस्थागत सहभागिताको संयन्त्र विकास गरी सहभागी गरिने, बालबालिका तथा युवाहरुहरुको लागि आवश्यक बजेट व्यवस्थापन गरी तिनीहरूबाट नै परिचालन गरी कार्यान्वयन गरिने,बालिकाको वस्तुगत विवरण (सडक बालबालिका, टुहुरा, आमाबुवा नभएका, विशेष प्रकृतिका) तयारी गर्न पहल गरिने, प्रत्येक टोल स्तरीय, वडा स्तरीय र नगरपालिका स्तरीय बाल क्लब र सञ्जाल गठन गरी सम्बन्धित निकायमा आबद्धता गराई परिचालन गरिने, महिला, बालबालिका तथा युवा बर्गलाई प्रत्यक्ष प्रभाव पार्ने कुरुतीहरु अन्य गर्न पालिकाले आवश्यक बजेटको व्यवस्थापन गरी कार्यान्वयन गरिने लगायतका प्रतिबद्धता गरिएका थिए ।
पालिका उप प्रमुखको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडाध्यक्ष, शाखा प्रमुख, बाल क्लब, युवा क्लबका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले गरेका थिए ।
