
गणेश मौनी
असार १६, डोटी
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटीका सबै स्थानीय तह सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूलाई विपत् व्यवस्थापनको पूर्ण तयारीमा रहन आग्रह गरेकी छन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजित जिल्ला बिपत व्यवस्थापन समितिको बैठकमा प्रजिअ श्रेष्ठले उक्त कुरामा जोड दिएकी हुन् । प्रजिअ श्रेष्ठले स्थानीय सरकारले बिपतको क्षेत्रमा आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने, बिपत व्यवस्थापन सम्पर्क व्यक्ति तोक्नु पर्ने, सम्भावित जोखिमयुक्त स्थानको पहिचान गर्नुपर्ने बताइन् । जिल्ला तहमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग भएको उद्धारका सामग्री, जनशक्ति, स्रोत सधानको पनि अद्यावधिक गरी तयारी अवस्थामा राख्नुका साथै बिपतको समयमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेकी हुन् ।
बैठकमा बोल्दै विभिन्न पालिकाका जनप्रतिनिधीहरुले विगतका वर्षमा भएका बिपतका घटनाबाट भएको धन जनको क्षतिको कुनै प्रकारको राहत पाउन नसकेको समेत गुनासो गरेका थिए ।
बैठकमा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले सायलमा धेरै बस्तीहरू जोखिममा रहनुका साथै विगतका वर्षहरूमा ठुलो मात्रामा घन जनको क्षति भएको छ । अहिले पनि धेरै स्थान जोखिम युक्त छन् त्यसैले सायल क्षेत्रलाई जोखिमयुक्त क्षेत्रको रूपमा बुझ्नुपर्ने बताए । सायल क्षेत्रमा नेपाल टेलिकम र बिधुतको समस्याको बारेमा समेत प्रजिअको ध्यान आकर्षण गराएका थिए ।
जथाभाबी बनजंगल मासेर सडक बनाउने कारणले अधिकांश बस्तीहरू बाढी पहिरोको जोखिममा पर्ने गरेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए । उनले भने विपत् पश्चात् वितरण गरिने राहतमा समेत विभेद हुने गरेको छ यता तिर पनि सबैको ध्यान जानु पर्छ । बिपतका योजनाहरू बनाउँदा दीर्घकालीन बनाउनुका साथै सबैले आआफ्नो जिम्मेवारी बहन गर्नुपर्ने समेत बताए ।
विगतका समयमा बिपतबाट क्षति बेहोरेका पीडितहरूले अहिले सम्म पनि क्षतिपूर्ति पाउन नसक्दा सरकारले राहतको नाममा विभिन्न नौटंङी गर्छ भनेर आरोप खेप्नु परेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । विपतका घटनाहरूबाट हुने गरेको धनजनको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्नुका साथै समयमै राहतको पनि व्यवस्था गर्नुपर्ने समेत अध्यक्ष शाहीले बताए ।
शिखर नगरपालिका सेती नदी छेउछाउका बस्तीहरू बाढीपहीरोबाट उच्च जोखिममा रहेका शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । उनले भने शिखर क्षेत्र सबैको हिँडडुल गर्ने साझा क्षेत्र हो एक पटक पनि अवरुद्ध हुँदा डोटी अछाम बाजुरा नै थप्प हुने गरेकोले सम्बन्धित सबै सडक, बन कार्यालय लगाएको सबैको ध्यान जानुपर्ने बताए । विपत् व्यवस्थापनमा विभिन्न योजनाका साथ अगाडी बढी रहेको समेत प्रमुख बलायरले बताए ।
बिपतको समयमा हुने गरेको घन जनको क्षतिको विवरणमा एकरूपता हुनुपर्ने पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । उनले भने विपतको समयमा सङ्घ संस्थाको तथ्याङ्क एउटा हुन्छ, प्रहरीको अर्को हुन्छ अन्यको अर्को हुने हुँदा वास्तविक पीडित भन्दा अरूले राहत पाउने सम्भावना बढी हुने गरेको बताए ।
पालिका भित्रका केही विपतको जोखिममा रहेकाले बस्तीहरू नै स्थानान्तरण गर्नुपर्ने बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसीलाले बताए । उनले भने बस्ती स्थानान्तरण पूर्व ४,५ जनाको विज्ञ टोली आउनु पर्ने अनुसन्धान पश्चात् विभिन्न प्रक्रिया पश्चात् बस्ती स्थानान्तरण कार्य अगाडी बढ्ने भएकाले जिल्ला भित्र जोखिममा रहेका स्थानहरूको पहिचान गरी बस्ती स्थानान्तरण कार्य जिल्ला भरि संयुक्त रूपमा अगाडी बढाउनु पर्ने बताए ।
पालिकाका केही स्थानहरू बिपतको सवालमा जोखिमपूर्ण अवस्थामा रहेका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । उनले भने हामीले पनि केही स्थानहरू जोखिमपूर्ण रूपमा लिएका छौ तिनीहरूको पहिचान गरी पूर्व तयारी अवस्थामा रहनेछौ । पालिकाले विपतको क्षेत्रमा तयार गरिहरेको समेत अध्यक्ष साउँदले बताए ।
बैठकमा राजनीतिक दलका प्रतिनिधीहरुले पनि विपतको समयमा प्रदेश तथा सङ्घीय सरकार खासै जिम्मेवार हुन नसकेको गुनासो गरेका थिए । आगामी दिनमा तिनै तहका सरकारहरू जिम्मेवार हुनुपर्ने बताएका थिए ।
बैठकले २०७८ साल असोज ३१ गते देखि कात्तिक ३ गते सम्म अविरल वर्षाका कारण निजी आवास नष्ट भएका व्यक्ति तथा परिवारहरूलाई पुन निमार्ण तथा प्रबलीकरण तथा पुरस्थापनाको लागि स्थानीय बिपत व्यवस्थापन बाट अनुमोदन भई आएका ७३ वटा घर पुननिमार्णका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने, सोही समयमा धान बाली बोहेका अन्य बालीमा क्षति पुगेका स्थानीय तहले कृर्षि ज्ञान केन्द्रलाई सिफारिस गरेका क्षतिको विवरण अनुरूप डोटी जिल्लाका ९ सय २९ जना किसानहरूलाई क्षतिको क्षेत्रफल रोपनीको आधारमा राहत उपलब्ध गराउने लगायतका विभिन्न निर्णयहरू गरिएका जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दिपा जोशीले बताइन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा डोटीका सबै स्थानीय तहका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

