
डोटी : डोटीको जोरायल गाउँपालिका अन्तरगत वडा नम्बर २ को रिठामा निर्माण गरिएको २ कोठे भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । परिवर्तन परियोजना र जोरायल गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवन सोमबार एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
परिवर्तन परियोजनाको आठ लाख तथा जोरायल गाउँपालिकाको चार लाख र श्रमदान दुई लाख गरी जम्मा १४ लाखमा तयार गरिएको भवनसङै दुई कोठे शौचालय पनि छ । गाउँपालिकामा महिलाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भवन बनाउन सहयोग गरेकोले सम विकास केन्द्र डोटीलाई गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले धन्यवाद दिनुभयो । रिठा सामुदायिक स्वास्थ्य इकाईका महिलाहरूले स्वास्थ्य केन्द्रमा कर्मचारी र औषधीको व्यवस्था हुनुपर्ने माग राखेपछि अध्यक्ष ओझाले मागलाई चाँडो सम्बोधन गर्ने बाचा गर्नुभयो ।
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले परिवर्तन परियोजनाले जोरायल गाउँपालिका–२ को मेल खोलामा बाख्रा पालनमा रु ३१ लाख र भवनका लागि ८ लाख दिएकोले महिलाहरूलाई एक हुन आग्रह गर्नुभयो । वडा नम्बर २ का अध्यक्ष वीर बहादुर दर्लामीले गाउँपालिकाले भनेबमोजिम विकास निर्माणका काम गर्ने बताउनुभयो ।
परिवर्तन परियोजना डोटीका कार्यक्रम संयोजक महेश परियारले कार्यक्रमको समय सकिन लागेकोले जोरायल गाउँपालिका अन्तरगतका सामुदायिक स्वास्थ्य इकाई केन्द्रका समूहहरूलाई गाउँपालिकाले कुनै अन्य क्षेत्र बाट समेट्नु पर्ने र योजना छनौट गर्दा व्यक्तिलाई प्राथमिकता नभई सामूहिक रूपमा छनौट गर्नुपर्ने बताउनुभयो । साथै गुनासो सुनाइलाई पनि प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । सामुदायिक स्वास्थ्य इकाई केन्द्रकी अध्यक्ष लक्ष्मी ठगुन्नाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहनुभएको थियो ।

