महिला स्वास्थ्य स्वयं सेविकाहरूका लागि दश दिने आधारभूत तालिम सुरु 

गणेश मौनी 

फागुन १५, डोटी 

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडा स्वास्थ्य चौकीमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि दश दिने आधारभूत तालिम सोमबार देखि सुरु भएको छ ।

Sayalb

बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालय डोटीले तालिमको आयोजना गरेको हो । तालिमको सोमबार एक कार्यक्रमका बिच बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटीले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष बोगटीले गाउँघरमा महिला स्वयं सेविकाहरू सबैका भरपर्दा, विश्वासिला पात्र भएकोले स्वास्थ्य सम्बन्धी आधारभूत विषय बस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । स्वास्थ्य स्वयंमसेविकाहरुलाई वडाले पूर्ण सहयोग गर्ने समेत वडा अध्यक्ष बोगटीले बताए ।

नयाँ स्वयंमसेबिकाहरुलाई आधारभूत तालिम भएकोले सबै विषय बस्तुको बारेमा जानकारी गराइने तालिमका सहजकर्ता एवं गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले बताए । तालिममा स्वयं सेविकाहरूले समुदाय स्तरमा गर्नुपर्ने मुख्य काम खोप, नवजात शिशु तथा सुरक्षित मातृत्व, बाल रोगको उपचार तथा रोकथाम, आमा समूह सञ्चालन, अभिलेखीकरण तथा प्रतिवेदन सम्बन्धी लगायतका विषय बस्तुहरूको बारेमा जानकारी गराइने  सिनियर अहेब बोगटीले बताए

१० दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण जनस्वास्थ्य निरीक्षक धर्मसिंह बम, जनस्वास्थ्य निरीक्षक हेम बहादुर बोगटी  र सिनियर अहेब शिशिर बोगटीले गर्ने भएको आयोजकले जनाएको छ । तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सात्फरी, वडा नम्बर ५ धिर्कामाण्डौ र वडा नम्बर ६ गगुडाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूको सहभागी रहेको समेत गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले जानकारी दिएका छन् । तालिम गगुडा स्वास्थ्य चौकी भवनमा सञ्चालन भइरहेको छ ।

Shaileshwori
Loading...