
असोज १५, डोटी । बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न भएको छ । वर्षभरि भए गरेका कामहरू बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाइ गर्ने र पृष्ठपोषण लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाले वर्षभरि गरेका काम र प्रगतिबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज अवस्थिले प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीपश्चात कार्यक्रममा प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरूले पालिकामा भएको बिजुलीको समस्या, कर्मचारी अभावको समस्या, सेवाग्राहीले भोगेको सास्ती, सुशासन, पारदर्शीताका सवालमा प्रश्न उठाएका थिए । प्रश्न, जिज्ञासा तथा सुझावहरू बारे प्रमुख वक्ताका रूपमा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला, उपाध्यक्ष विस्ना देउवा बम, प्रमुख प्रशासकीय अधिकृत पदमराज अवस्थी, वडा अध्यक्षहरू लगायत सम्बन्धित विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जवाफ दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष गड्सिलाले सार्वजनिक सुनुवाइ कार्यक्रममा आएर प्रश्न, जिज्ञासा, सुझाव राख्ने सबैलाई धन्यवाद दिँदै प्रश्न सुझाव सार्वजनिक सुनुवाइ कार्यक्रममा मात्रै नभएर कार्यालय, फोन, सामाजिक सञ्जाल जस्ता माध्यमबाट जुनसुकै बेला पनि दिन सकिने बताए । उपाध्यक्ष बमले सार्वजनिक सुनुवाइ कार्यक्रमले पारदर्शिताको सवाललाई उठाउने भएकाले यस्ता कार्यक्रममा निर्धक्क भएर प्रश्न, सुझाव र सल्लाह दिन पर्ने बताए । वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको मुलुक कम्युनिकेसन प्रा.लीले सहजीकरण गरेको थियो ।

