स्थानीय तहको निर्वाचन : तयारीमा रास्वपा, अन्य दलमा सुरसार छैन

२४ कात्तिक, डाेटी । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डोटीले स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी सुरु गरेको छ । अन्य दलहरुमा निर्वाचनवारे कुनै सुरसार देखिदैन ।
स्थानीय तहको तेश्रो कार्यकालका लागि फागुनभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले तयारी सुरु गरेपछि रास्वपा आन्तरिक तयारीमा जुटेको हो । सो पार्टीले क्याण्डिडेट क्लवमार्फत उम्मेदवार छनौट प्रक्रिया समेत थालेको छ ।
‘अहिले पार्टी केन्द्रबाटै उम्मेदवार हुन ईच्छुक व्यक्तिहरुबाट आवेदन माग गरिएको छ’ रास्वपा डोटीका सभापति केशववहादुर बलायर भन्छन् ‘जिल्लामा पार्टीका आन्तरिक कार्यक्रमहरु चलिरहेका छन् ।’ केही दिनअघि केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला जिल्लाभरी “हामी आउँदैछौं’ अभियान सम्पन्न भएको बलायर वताउँछन् । उनले भने ‘जिल्लाले आफै तय गरेका आन्तरिक क्रियाकलापहरु चलिरहेका छन् ।’
बिगतमा दुई निर्वाचनमा प्रतिस्पर्धी रहेका जिल्लामा क्रियासिल अन्य तीन दलहरुले भने निर्वाचन लक्षित कुनै तयारी गरेका छैनन् । स्थानीय चुनावको बिषयमा त्यस्तो छुट्टै कुनै तयारी नभएको नेपाली कांग्रेस (देउवा निकट) डोटी जिल्ला सभापति बाजिसिं खड्का (बिजय) वताउँछन् । ‘चुनावै लक्षित त्यस्तो कुनै कार्यक्रम अहिले सञ्चालन भएको छैन’ खड्का भन्छन् ‘राजनीतिक दलहरु स्वभावैले निर्वाचनका लागि जतिबेला पनि तयार छन्, निर्वाचन घोषणा हुने बित्तिकै हामी तयारीमा जुट्छौं ।’
कांग्रेसले चुनाव लक्षित कुनै क्रियाकलापहरु सञ्चालन नगरेको कांग्रेसकै गगन समूह जिल्ला कार्यवहाक सभापति नारायण बलायर वताउँछन् । उनी भन्छन् ‘हाम्रो भरकरै महाधिवेशन सकिएको छ, अव केन्द्रबाट केही निर्देशन आउँला सोही अनुसार अघि बढ्छौं ।’
नेकपा एमाले, डोटीले पनि निर्वाचन लक्षित कुनै कार्यक्रमहरु सञ्चालन गरेको छैन । अहिले पार्टीको गाउँ जागरण अभियान सञ्चालन भईरहेको तर चुनावै लक्षित गरी कार्यक्रम सुरु नभएको एमाले जिल्ला अध्यक्ष मञ्जु मलासी वताउँछिन् । ‘मंसिर २ र ३ गते पार्टीको राष्ट्रिय भेला छ, बेलाबाट कुनै निर्णय होला’ मलासी भन्छिन् ‘त्यसपछि पार्टी जिल्ला कमिटीको बैठकबाट हामी कार्यक्रमहरु तय गछौं ।’
देशव्यापी राष्ट्रिय जागरण अभियानमा जुटेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि चुनाव लक्षित कार्यक्रमहरु सञ्चालन नगरेको सो पार्टीका जिल्ला संयोजक कमल गडसिला वताउँछन् । ‘पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ, सुदूरपश्चिममा उक्त अभियान तिहार लगत्तै सञ्चालन हुन्छ’ उनले भने ‘तर चुनाव लक्षित भनेर कुनै तयारी भईरहेको छैन ।’ उनी निर्वाचन हुनेमा पनि संका व्यक्त गर्छन् । उनी भन्छन् ‘निर्वाचन आयोगले तयारी गरिरहेको भन्ने त सुनिएको छ, तर सरकारले स्थानीय निर्वाचनमा चाँसो राखेको देखिएन ।’
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा ‘सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ’ भन्ने व्यवस्था रहेको छ । ऐनको दफा २(न) मा “सदस्य” भन्नाले गाउँपालिका र नगरपालिकाको वडा सदस्य तथा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शव्दले अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई समेत जनाउँछ ।’ भनिएको छ ।

Sayalb

चर्चा उम्मेदवारहरुको
औपचारिक रुपमा निर्वाचनको मिति तय नभएको भएपनि राजनीतिक दलहरुभित्र उम्मेदवारको बिषयमा चर्चा सुरु हुन थालेको छ ।
स्थानीय तहको निर्वाचनमा आ–आफ्नो दलबाट उम्मेदवारका लागि दावी गर्नेको संख्या बढ्दै छ । ‘चुनाव कहिले हुने भन्ने बिषयमा टुङ्गो लागेको छैन, तर उम्मेदवार बन्ने र वनाउने होडवाजी सुरु भईसकेको छ’ नेपाली कांग्रेस डोटीका एक नेता भन्छन् ‘पुराना दलहरुले निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा आ–आफ्नै खुट्टा तान्नमा व्यस्त छन् ।’
त्यसो त रास्वपाभित्र पनि उम्मेदवारका दावेदारहरुको कमी छैन । उम्मेदवार बन्नकै लागि बिभिन्न दल त्याग गरेर रास्वपा प्रवेश गर्नेको लर्को लागेको रास्वपाका एक नेता वताउँछन् । ‘हामीभित्र पनि गुटवन्दी सुरु भएको छ’ उनी भन्छन् ‘स्थापनाकालदेखि रास्वपा भएका र गत चुनावमा पार्टीले अपार सफलता पाएपछि अवसर छोप्न आएकाहरुबीच तिब्र मतभेद देखिन्छ ।’ उनी यसलाइ समाधान गर्ने प्रयास भईरहेको पनि वताउँछन् ।
एमालेभित्रको अवस्था पनि उस्तै छ । पार्टीका कार्यक्रममा अनेक बहाना वनाएर अनुपस्थित हुनेहरु पनि टिकटको लागि दौडधुप गर्न थालेको एमाले डोटीका एक नेता वताउँछन् । ‘जो जनताको बिचमा अलि परिचित छ, गाउँमै बसेर संगठनको काममा लागेको छ, उसको नेताहरुसंग सम्वन्ध छैन’ उनी भन्छन् ‘जो नेताका वरिपरी घुमेर टिकट पाउँछ, उसको मतदातासंग सम्वन्ध छैन ।’

Shaileshwori
Bolpatra
Loading...