
सिलगढी : डोटीको सिलगढीमा सार्वजनिक सेवामा दूरसञ्चार एवम् सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुधवार नेपाल दूर सञ्चार प्राधिकरण काठमाण्डौको सहयोग र वसुश्रि टेक्नोलोजी प्रालिको आयोजनामा दिपायल सिलगढी नगरपालिकाको सभा हलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीले दुरञ्चार एवम् सूचना प्रविधिमा डोटी जिल्लाको वास्तविक अवस्थाको बारेमा छलफल गरेका छन् । जिल्लामा विभिन्न इन्टरनेट सेवा प्रदायकबाट गुणस्तरीय सेवा पाउन नसकेको उनीहरूले बताएका छन् । दिपायल सिलगढी नगरपालिका बाहेकका पालिकामा नेपाल टेलिकमको डाइरेक्ट इन्टरनेट सेवाको पहुँच छैन जसले गर्दा त्यहाँका प्रयोगकर्ताले चर्को मूल्यमा इन्टरनेट खरिद गर्नुपर्ने बाध्यता छ । चर्को मूल्य तिरे पनि सेवा गुणस्तरीय नहुने बताइएको छ । यस्ता विभिन्न कारणले जिल्लाका सार्वजनिक सेवामा दुरञ्चार एवम् सूचना प्रविधिको भूमिका फितलो हुने गरेको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले काठमाण्डौको परिवेश हेरेर बनाइएका दूरसञ्चार नीतिले दुर्गम क्षेत्रका उपभोक्ताहरूको समस्या समाधान नहुने बताए । उनले भने, काठमाण्डौमा फाइप जी को कुरा गरिरहँदा दुर्गम भेगका जनताले सहज फोन सेवा पाउन सकेका छैनन् । सार्वजनिक सेवामा दुरञ्चार एवम् सूचना प्रविधिको भूमिका बढाउन पहिला दुर्गम भेगमा दूरसञ्चारको सहज पहुँच पुर्याउनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

