
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । शुक्रवार आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले प्रदेश सभा बैठकमा जम्मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजित बजेटको चालु तर्फ नौ अर्ब ५९ करोड ६० लाख दुई हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत र पुँजीगत तर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव ६१ प्रतिशत रहेको छ । मन्त्री शाहीले अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८ दशमलव ०२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३० करोड अर्थात् १ दशमलव ०३ प्रतिशत विनियोजन गरेको बताए ।
प्रस्तुत गरिएको बजेटमा आन्तरिक राजश्वबाट १ अर्ब ५० करोड, सङ्घीय सरकारबाट ९ अर्ब ४१ करोड १७ लाख, सङ्घीय रोयल्टीबाट छ करोड ५६ लाख ८ हजार, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको आठ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने तीन अर्ब ८६ करोड ६७ लाख २४ हजार, सशर्त अनुदानबाट चार अर्ब ५१ करोड १६ लाख, सङ्घीय समपूरक अनुदानबाट ७७ करोड, विशेष अनुदानबाट ६२ करोड खर्च व्यहोर्ने अनुमान गरिएको मन्त्री शाहीले बताए ।
