बझाङ केन्द्रबिन्दु बनाएर  चार दिनमा १५ पटक भूकम्प 

सुदूरपश्चिममा कुनै पनि समयमा शक्तिशाली भूकम्प जान सक्ने वरिष्ठ भूकम्पविद्हरूले बताएका छन् ।
पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम रहेको भन्दै सचेत रहन भूकम्पविदहरुले आग्रह समेत गरेका छन्। बझाङ केन्द्रबिन्दु भएर आज (शनिवार) दिउँसो ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ र १२ बजेर ३२ मिनेटमा ४ दशमलव ३ तीन म्याग्निच्युडको भूकम्प गएको छ ।
आजको भूकम्प गत मङ्गलवार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युड भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्। वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठुलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ ।
आजको भूकम्प मङ्गलवार गएको भूकम्पको परकम्प रहेको उनले बताए। ‘सन् १५०५ यता त्यहाँ ठुलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठुलो शक्ति सञ्चित भएर बसेको छ। दुई वटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो,’ वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘मङ्गलवार मझौला खालको भूकम्प गएकामा त्यसका परकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता परकम्प आउन सक्छन् ।’
Sayalb
सुदूरपश्चिममा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठुलै भूकम्प जान सक्ने अनुमान गरिएको छ। स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठुलो कम्पनको सङ्कट टर्ने भूकम्पविद् बताउँछन्। भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो ।
५ दशमलव ३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो ।
असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्प गएको थियो। बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो। अर्का वरिष्ठ भुकम्पविद लोक विजय अधिकारीले पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि शक्तिशाली भूकम्प जाने सम्भावना उच्च रहेको बताउँछन् । वर्षौँदेखि जमिनमुनि शक्ति सञ्चय भएर बसेकाले पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा छ । ‘हामीले थाहा नपाउने पराकम्पहरू कयौँ पटक गइरहेका हुन्छन् तर ठुलो भूकम्प जुनसुकै समयमा पनि जान सक्ने जोखिम कायमै छ ।’
दिनेश खबरबाट साभार
Shaileshwori
Loading...