डोटीमा पुतला पर्वको रौनकता

माघ ०२, डोटी ।
डोटीमा रन पुतला पर्वको रौनकता छाएको छ । पश्चिमका पहाडी जिल्लामा मनाइने ‘रन पुतला’ नारीहरूको पर्व हो । महिला तथा किशोरीहरुद्धारा छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा रन पुतला खेलिन्छ । पुतला पर्व कुनै ठाउँमा पुस महिनाको १५ देखि माघ १ तथा ३ गते सम्म मनाइन्छ भने कुनै ठाउँमा चैत २० गते देखी वैशाख १ गतेसम्म मनाइने चलन छ ।

परम्परागत रूपमा मनाइँदै आएको यो पर्वमा पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडा समेटेर बनाइएका गीत गाइने गरिन्छ । पुतलामा गाइने वेदनाका गीतले भावुक बनाउने दिपायल सिलगढी नगरपालिका–७ रातुलीकी देवी भण्डारी बताउनुभयो । ‘पुतला खेल्ने बेला पिडा लाग्छ, उहाँले भन्नुभयो, आमा बुवा, भाइबहिनी, भाउजू, भतिजीको बारेमा बारेमा गीत गाइन्छ अनि मन रुन्छ ।’ पुतला नाच सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्येको एक मौलिक कला, संस्कृति हो । अछाम, बाजुरा र डोटीको सङ्गममा परापूर्व कालमा घ्याराघ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला रन पुतला नाचको सुरुवात गरेको भनाइ छ । रन पुतलालाई दिदीबहिनीसँगको भेटका रूपमा पनि लिन सकिने रातुलीकी खिमा देवी भण्डारीले बताउनुभयो । दिदी बहिनी, आमा, काकी, भाउजू लगायत सबै जम्मा भएर पुतला खेल्ला रमाइलो हुने उहाँको भनाई छ ।

Sayalb

जिल्ला सदरमुकाम सिलगढी नजिकको गाउँ रातुलीमा पुतला पर्व मनाउन थालिएको करिब ६० वर्ष भन्दा बढी भयो । त्यति बेला यो गाउँमा पद्मा देवी विष्टले पुतला पर्वको सुरुवात गर्नुभएको थियो । भगवतीको कथामा आधारित रहेर रातुलीमा पुतला खेलिँदै आएको पद्मा देवी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भगवतीकी खेल हो भगवतीलाई हिउँचुलीका माग्न आउँदा म सक्करी (चिसो ठाउँ) लेक जान सक्दैन भगवतीले भनेपछि ‘तुमरा कर्म ओइ सिजायो जानै प¥यो भागा छोरी’ उनका बाबुआमाले भन्दा त्यसपछि कुराहरूलाई समेटेर गीत बनाई पुतला खेलिन्छ ।’

पुरानो पुस्तासँगै यो नाच बिस्तारै हराउने चिन्ता बढेको छ । पद्मा देवी उमेरले ८४ वर्ष कटिसक्नुभएको छ । उहाँलाई यो पर्वले निरन्तरता पाउँदैन की भन्ने चिन्ता छ । ‘अहिलेकाहरु ठेगटुप्पो गरेर छोड्छन्, उहिले त कस्तो हुन्थ्यो हुन्थ्यो मैले गाएको पनि बजारसम्म सुनिन्थ्यो, उहाँले भन्नुभयो, भोली के हुने हो थाहा छैन, सक्ने हुन की नाइँ अलि खर्च पनि लाग्छ, बनाई हाल्नु त भनेको छु जे पो गरुन् म मरेपछि देख्ने होइन ।’

पुतला गाउँ गाउँमा आपसी सद्भावको सेतु बनेको छ । बेलाबखत यहाँ आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यो खेल खेल्ने गरेको देख्न पाइन्छ । सुदूरपश्चिमका कला, संस्कृतिमा मौलिक वेशभूषा लुकेका छन् । पुराना पुस्ताले जगाएका यस्ता संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ ।

 

Shaileshwori
Loading...