
१७ माघ, डोटी
डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका प्रथम भएको छ । दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबारदेखि मङ्गलवार सम्म सञ्चालन भएको प्रतियोगितामा दिपायल सिलगढी ३१ पदक सहित प्रथम भएको हो । दिपायल सिलगढीले २२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्न सफल भएको छ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि दिपायल सिलगढीले नै जितेको थियो ।

३१ पदक नै जितेको जोरायल गाउँपालिका प्रतियोगितामा द्धितिय हुँदा आदर्श गाउँपालिका १५ पदक सहित तृतीय भएको छ । जोरायलले १० स्वर्ण, १३ रजत र ८ कांस्य पदक तथा आदर्श गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र एक कांस्य पदक हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी अन्य पालिकामा शिखर नगरपालिका, बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, सायल, के.आइ.सिंह र पुर्विचौकी गाउँपालिकाले क्रमशः २२, २१, ५, ८, ३ र २ पदक जितेका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कतारे विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूमध्येबाट प्रदेशस्तरीय राष्ट्रपति कपमा लगिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
