
किरण धामी
वैशाख १, डोटी
डोटी जिल्लाका नौ ओटै पालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेका छन् । आधारभूत शिक्षा परीक्षा समितिको निर्णय अनुसार स्थानीय तहहरूले कक्षा ८ को नतिजा सार्वजनिक गरेका हुन् । पालिका स्तरीय परीक्षा २०८० को नतिजा सन्तोषजनक भने छैन । जिल्लाका दुई बाहेक सात ओटा पालिकामा ५० प्रतिशत भन्दा कम विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् । पालिकाहरूले सार्वजनिक गरेको नतिजा चिन्ताजनक देखिएको हो ।
सबै भन्दा कमजोर नतिजा बोगटान फुड्सिल गाउँपालिकाको देखिएको छ । जम्मा परीक्षामा सहभागी विद्यार्थीमा १३ दशमलव २६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यस पालिकामा दुई सय ९२ जना परीक्षामा सहभागी भएकोमा ३९ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । आदर्श गाउँपालिकाबाट पाँच सय ६४ जना विद्यार्थी सहभागी भएकोमा २१ दशमलव ६३ प्रतिशत अर्थात् एक सय २२ जना, पुर्विचौकी गाउँपालिकाका चार सय ४९ जनामा २६ दशमलव ०६ प्रतिशत अर्थात् एक सय १७ जना, सायल गाउँपालिकाबाट तीन सय ९८ जना विद्यार्थी सहभागी भएकोमा ३२ दशमलव १६ प्रतिशत अर्थात् एक सय २८ जना मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तै दिपायल सिलगढी नगरपालिकाबाट सात सय ९२ जना सहभागी भएकोमा दुई सय ८२ जना (३५ दशमलव ६१ प्रतिशत), शिखर नगरपालिकाबाट सात सय ३९ जनामा दुई सय ९७ जना ( ४० दशमलव १९ प्रतिशत) र बडीकेदार गाउँपालिकाबाट दुई सय ८५ विद्यार्थी सहभागी भएकोमा एक सय २० जना (४२ दशमलव ११ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
के.आई.सिंह गाउँपालिका र जोरायल गाउँपालिकामा ५० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । जोरायल गाउँपालिकाबाट चार सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा दुई सय ६० जना (५९ दशमलव ६३ प्रतिशत) र के.आई.सिंह गाउँपालिकाबाट पाँच सय ७९ जना सहभागी भएकोमा तीन सय ५५ जना अर्थात् ६१ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आधारभूत तह कक्षा ८ को नतिजालाई लिएर हाल सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् ।
