
शनिबारका लागि निर्धारित इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा ५९ दशमलव ७८ प्रतिशत तथा बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणना स्थल इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १०:०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ ।
