
भदौ ४, डोटी । डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आइरहेका नेवार समुदायले मङ्गलवार गाईजात्रा भव्यरुपमा मनाएका छन् । गाईजात्रा श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट मनाइन्छ । गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइन्छ । विशेष गरेर गाईजात्रा पर्व नेवार समुदायले मनाउँदै आएका छन् ।
यो पर्वको सुरुवात राजा प्रताप मल्लको पाला देखि भएको हो । पुत्र शोकले रानी भाव विह्वल भएपछि राजा मल्लले आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको सुरुवात गरेको पाइन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका साथै काभ्रे, पाल्पा, डोटी लगायत नेवारको बसोबास भएको ठाउँमा मनाइन्छ । डोटीमा पनि दुई सय वर्ष पहिले देखि यो पर्व मनाउन थालिएको स्थानीयहरूको भनाइ छ । दुई सय वर्ष भन्दा पहिला नेवारहरू भक्तपुरबाट पाल्पा, पोखरा हुँदै डोटी आएपछि यहाँ पनि यो पर्व मनाउन थालिएको थियो ।

गाईजात्राका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको रहेको छ ।
दुःख बिर्साउनका लागि यो जात्रा मनाउन थालिएको बताइन्छ । मृत्यु भएको वर्ष दिन नपुगेका व्यक्तिको सम्झना र आफूमा परेको दुःख बिर्सिनका लागि गाईजात्रा निकाल्ने परम्परा रहेको स्थानीय श्रीचन्द्र श्रेष्ठले बताए । दिवङ्गत व्यक्तिको घरमा एउटा टारिटाई बनाइन्छ । अलि सम्पन्न व्यक्तिले टारिटाइको सट्टा गाई सहितको रथ बनाउने गर्दछन् । त्यसको महत्त्वपूर्ण सन्देश एक प्रकारको मृत्यु गणना जात्रा पनि हो ।
