
भदौ ९, रामेछाप । रामेछापमा पहिरो बस्ती बगाउँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
पहिरोमा परेका अन्य ४ जना अझै बेपत्ता छन् भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेलले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको उनले बताए ।

अविरल वर्षापछि शनिवार राति करिब ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखर्कका ४ घर बगाएको छ ।
अहिलेसम्म भीमबहादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका.–३ लेखर्ककी ३० वर्षकी चण्डिका श्रेष्ठ, उनका १८ महिनाको बालक आमुष श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसै गरी उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षकी उर्मिला पहरीसहित ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको बताइएको छ ।
