डोटीमा किवी खेती विस्तार हुँदै

किरण धामी 
कात्तिक १०, डोटी । दिपायल सिलगढी नगरपालिका-६ सिलगढीका हेम बहादुर मल्लले आज भन्दा करिब ९ वर्ष पहिले ९ बोट किवी लगाए । तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा मल्लले किवी खेतीको सुरुवात गरेका हुन् । सिलगढी शैलेश्वरी मन्दिर अगाडि आफ्नै करिब २ रोपनी क्षेत्रफलको जमिनमा ९ बोट बाट सुरु गरिएको मल्लको किवी खेती अहिले ४० बोटामा परिणत भएको छ ।
सुरुका ४ वर्ष किवी हुर्काउन लागेपछिका वर्षहरूमा भने आम्दानी लिन थालिएको छ । हाल मल्ललेे किवीबाट बर्सेनि २ लाख भन्दा बढी आम्दानी लिन थालेका छन् । सुरुमा लगाएका एकै बोटमा वार्षिक ३० देखि ४० हजारको किवी फल्ने गरेको मल्लले बताए ।
जिल्लामा पहिलो पटक किवी खेती गरिएका कारण सुरुमा बजारको समस्या भए पनि अहिले माग धान्न कठिन भएको मल्लले सुनाए । उनले भने, ‘सुरुमा अलि बिक्री गर्न गाह्रो भयो, सबैलाई एक दुई दाना चखाउनु पर्थ्यो अनि मात्रै एक दुई किलो किन्थे तर अहिले माग धान्न मुस्किल हुन्छ एकै व्यक्तिबाट दश, १५ किलो सम्म अडर आइरहेको हुन्छ घरमै आएर खरिद गर्छन् ।’
किवी खेती गर्दा काटछाट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लको भनाइ छ । काटछाट सम्बन्धी ज्ञान नभएमा खासै आम्दानी लिन नसकिने उनले बताए । किवीको राम्रो बजार भएकाले थप एक सय बोट लगाउने योजना रहेको मल्लले सुनाए ।
Sayalb
जोरायल गाउँपालिका-१ गैराका भास्कर भट्टले पनि पाँच सय भन्दा बढी बोटा किवी खेती गरेका छन् । ७ वर्ष पहिले युटूवमा भिडियो हेरेर किवी खेती प्रति आकषिर्त भएका भट्टले ६५ बोटबाट खेती सुरु गरेका हुन् । कृषि ज्ञान केन्द्रले सहयोग गरेका ५५ बोट र १० बोट आफै खरिद गरेर किवी खेतीको सुरुवात गरेको सुनाए ।
भट्टले यो वर्षबाट किवी बिक्री गर्न सुरु गर्ने बताएका छन् । उनले भने, ‘बारीमा ४ क्विन्टल जति किवी छ, बिक्रीको लागि धनगढीको भाटभटेनीसँग कुरा गरेको छु उताबाट नमुना ल्याउन भनिएको छ यता पनि १०/१५ किलो गरेर धेरैले अग्रिम अर्डर गरेका छन् यो वर्ष बजारको समस्या पर्दैन होला ।’
अर्को वर्षबाट ५०/६० क्विन्टल किवी आफ्नो वारिमा फल्ने भट्टले बताए । उनले किवी खेती गरिएको भित्र विभिन्न तरकारीहरू पनि फलाई राखेका छन् ।
कृषि ज्ञान केन्द्र डोटीका अनुसार मल्ल र भट्ट जस्तै डोटीमा किवी खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । जिल्लामा एक हजार भन्दा बढी किवीका बोटा भएका फर्म मात्रै ४ ओटा रहेको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रबाट बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रम मार्फत र दिपायल सिलगढी नगरपालिका, आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा हिउँदे फलफूल क्षेत्र विस्तार कार्यक्रम मार्फत  किवी खेतीमा काम भइरहेको कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए ।
किवीबाट २५ वर्ष भन्दा लामो समय आम्दानी लिन सकिने भएकाले ज्ञान केन्द्रले किवी बिस्तारमा काम गरिरहेको बताए । डोटीमा उत्पादन हुने किवीको लागि बजारको समस्या नभएको र भण्डारण गर्नुपर्ने भएमा पनि डडेल्धुरामा कोल्ड स्टोर भएकाले त्यति समस्या नरहेको अवस्थीको भनाई छ ।
ज्ञान केन्द्रले किसानहरूलाई बिरुवा काटछाट सम्बन्धी तालिम दिने, काटछाट सम्बन्धीका औजार, बजारीकरणका लागि कार्टुन, किवीका लागि ठाक्रा लगायतमा सहयोग गरिरहेको जनाएको छ ।
Shaileshwori
Loading...