
पुस १, रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ हुकाम घरभइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सो स्थानमा यहाँको चर्चित कुनाखेल मेला चलिरहेको छ । मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थानभन्दा करिब तीनसय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार सानीभेरी किनारमा उक्त शव फेला परेको हो ।
शव फेला परेको सूचनालगत्तै प्रहरीले घटनाको अनुशन्धान गरिरहेको छ । घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
