
पुस ४, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका ३० वर्षीया आमा देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्तीको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक देवीसराकी छोरी गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते नौ वर्षीया रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
‘बुधबार राती खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोइला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । कोठामा कोइला बाल्दा अक्सिजनको मात्रा कम भएकाले निसासिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
