
पुस १९, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेको समयमा से १ ज ८३८ नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका–४ पातलखेत स्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ६ जना यात्रु लिएर दिपायलबाट पातल तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरूमा के.आई.सिंह गाउँपालिका–१ लोलीका २७ वर्षीय सुरेन्द्र कठायत, सोही ठाउँकी २६ वर्षीया पदमा कठायत र ७ वर्षीया बालिका करिष्मा कठायत रहेका छन् ।
घाइतेहरूको गगुडा स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । आफै अनियन्त्रित भएर सडकमा पल्टिन गई दुर्घटनामा परेको जिप के.आई.सिंह गाउँपालिका–७ सलेनाका २८ वर्षीय गोमने बलायरले चलाएका थिए ।
