
माघ १८, डोटी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिएको प्रदेश रहेको बताएका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा डोटी जिल्लाको सिलगढीमा आयोजित बहु भाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीलाई सम्बोधन गर्दै मियाले यस्तो बताएका हुन् । सम्भावना बोकेको ठाउँको विकासका लागि तिनै तहका सरकारले समन्वय गरेर अघि बढ्न आवश्यक रहेको उनले औँल्याए ।

सुदूरपश्चिमलाई आफूले बहूँ सांस्कृतिक, बहूँ भाषिक र बहु धार्मिक एक ऐतिहासिक क्षेत्रको रूपमा चिनेको बताए । देउडा, छलिया, हुड्केली, फाग, भुवा, चैते, धमारी, होली नाच लगायत विभिन्न संस्कृति सुदूरका चिनारी रहेको उनको भनाई छ ।
प्रदेश प्रमुख मियाले यो प्रदेश सुदूरपश्चिम नभएर सुन्दर पश्चिम भएको बताए । उनले भने, “म प्रदेश प्रमुख भएर यहाँ आउने क्रममा काठमाडौँमा केही साथीले त्यहाँ अप्ठ्यारो हुन्छ बिचार गर्नुहोला भनेका थिए, मैले पनि होला झैँ ठाने समस्या होला सोचेको थिए तर यहाँ आएपछि मैले राम्रो सद्भाव देखे अनि लाग्यो म सुदूरपश्चिम नभएर सुन्दर पश्चिम आएको रहेछु ।” बहु भाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी कार्यक्रममा नेपाल र भारतका दुई दर्जन बढी साहित्यकारको सहभागिता रहेको थियो ।
