
सुबास नेपाली
वैशाख २१, डोटी । डोटीको सायल गाउँपालिकाको डौडमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिलगढी स्थित श्री भैरव प्रसाद गणको आयोजना तथा श्री सैनिक अस्पताल नेपालगन्ज, नेपाली सेना फिल्ड अस्पताल धनगढी, नेपाली सेना श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला अस्पताल डोटीको सहयोगमा मा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
सैनिक र नागरिक बिच सुमधुर सम्बन्ध स्थापित गर्नुका साथसाथै भौगोलिक विकटताका कारण स्वास्थ्य सेवामा सहज पहुँच नभएका र आर्थिक स्थित कमजोर भएका स्थानीयहरूलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको श्री नं. ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी वालकृष्ण कार्कीले बताए ।

पालिकाका गरिब तथा विपन्न वर्गका अधिकांश जनता आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका हुँदा नेपाली सेनाले पालिका सँग समन्वय गरी सञ्चालन गरेको शिविरले आर्थिक अभावका कारण रोग पालेर बसेका जनतालाई ठुलो राहत पुगेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।
निःशुल्क स्वास्थ्य शिविरमा एक सय ५० पुरुष, तीन सय ४८ महिला गरी चार सय ४८ जनाले स्वास्थ्य चेकजाँच गरेको र निःशुल्क औषधी समेत वितरण गरिएको भैरव प्रसाद गणका निमित्त गणपति सेनानी सुशील कुमार राउतले जानकारी दिए । यसरी घर आँगनमा स्वास्थ्य परीक्षण तथा औषधि पाए पछि स्थानीय खुसी भएका छन्।
स्वास्थ्य शिविरमा रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा जोर्नी, ब्लड प्रेसर, सुगर र महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरूबारे समेत चेकजाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो। शिविरमा मधुमेह ,उच्च रक्तचाप ,ज्वरो,पेट तथा स्त्रीरोग, नाक कान घाँटी,दन्त रोग र छाला सम्बन्धी सेवा दिइएको थियो।
