
सुवास नेपाली
वैशाख ३०, डोटी । सामाजिक, सांस्कृतिक, ऐतिहासिक, एकीकरणसँग सम्बन्धित तथा पूर्वाधार विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको नेपाली सेनाले दिपायल सिलगढी नगर पालिका वडा नम्बर ६ थाप्लामा व्यवस्थित धारा तथा पानी ट्याङ्की निर्माण गरेको छ । नेपाली सेनाबाट सञ्चालन भएको शीघ्र प्रभावी योजना अन्तर्गत सुदूर पश्चिम पृतना हेड क्वाटरको निर्देशन, श्री नं. ५ वाहिनी अड्डाको सुपरिवेक्षणमा भैरव प्रसाद गणले धारा तथा पानी ट्याङ्की निर्माण गरेको हो ।
आज एक कार्यक्रमका बिच निर्माण गरिएका संरचनाहरूको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खडका र भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले सयुक्तरुपमा उद्घाटन गर्नुका साथै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीलाई धारा र पानी ट्याङ्की हस्तान्तरण गरिएको हो ।

नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्नुका साथसाथै जलवायु परिवर्तन सँगै भएका परिवर्तनले पानीका मूलहरू सुक्दै गइरहेको र भएका मुहानहरूलाई व्यवस्थित ढङ्गबाट एकीकृत गरी नागरिकहरूमा खानेपानीको आवश्यकता पूरा गर्ने उद्देश्य अनुरूप धारा तथा पानी ट्याङ्की निर्माण गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए ।
पछिल्लो समय विभिन्न कारणले पानीको समस्या बढ्दै गएको र नेपाली सेनाले निर्माण गरेको संरचनाले केही हद सम्म यहाँका स्थानीयहरूको खानेपानीको समस्या समाधान हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताए । साथै नगर प्रमुख खडकाले सेनाले गरेका यस्ता कार्यले नागरिक सैनिक सम्बन्ध प्रगाढ हुने पनि बताए । धारा निर्माण भए सँगै यहाँका स्थानीयहरूलाई खानेपानीको साथसाथै सिचाइका लागि सजिलो हुने पूर्व नगर प्रमुख तथा नेकपा एमाले डोटीकी अध्यक्ष मञ्जु सलामीको भनाई रहेको छ।
आपद् विपद्मा सहयोग गर्दै आइरहेको नेपाली सेनाले नागरिकहरूका समस्यामा दत्तचित्त भएर काम गरिरहेको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण गरिएका संरचनाले यहाँका स्थानीय लाभान्वित हुने र यसको दीर्घकालीन संरक्षणमा पनि स्थानीयले जोड दिनुपर्ने बताए । धारा तथा पानी ट्याङ्की निर्माण भए सँगै यश क्षेत्रका ३ सय जना स्थानीय लाभान्वित हुने भैरव प्रसाद गणले जनाएको छ।
