

वैशाख ३०, सिलगढी । दिपायल सिलगढी नगरपालिका–७ का ३९ किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत २ वटा समूहका किसानहरूलाई मङ्गलवार कृषि सामाग्री सहयोग गरिएको हो ।
कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यका साथ कृषि सामाग्रीहरू र बिउ बिजन वितरण गरेको परियोजनामा कार्यरत कर्मचारी नीरज बोगटीले जानकारी दिए । उनले प्लास्टिक टनेल, हजारी, प्लास्टिक पाइप लगायतका सामाग्रीहरू हस्तान्तरण गरिएको बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–७ का वडा अध्यक्ष कर्ण विष्टले कृषि क्षेत्रमा व्यवसायीकरण गर्न चाहनेलाई यो ठुलो सहयोग भएको बताए । कृषिमा गर्न चाहने किसानका लागि आगामी बजेटमा प्राथमिकता दिएर काम गर्ने पनि अध्यक्ष विष्टले बताए ।
गुड नेवर्श इन्टरनेशनल नेपालका डोटी जिल्ला कार्यक्रम संयोजक गीता चौधरीले संस्थाले गरेको सहयोग छेणिक भएकाले आत्मनिर्भर भएर आफै व्यावसायिक बन्नका लागि सहयोग गरेको बताए । त्यस्तै सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष खडक राज शर्माले विभिन्न सङ्घ संस्थाहरू सँगको सहकार्यमा लामो समयदेखि काम गर्दै आएकाले अझै पनि आयआर्जन क्षेत्रमा राम्रो काम गर्नेलाई थप सहयोगका लागि निरन्तर सहयोग गर्ने बताए ।
सामुदायिक विकास मञ्च नेपालका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका–७ का अध्यक्ष कर्ण विष्ट रहेका थिए । गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गीता चौधरी, कृषि प्राविधिक, किसानहरू लगायतको उपस्थितिमा कृषि सामाग्री हस्तान्तरण सम्पन्न भएको छ ।
