
वैशाख ३१, डोटी । डोटीको केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालक समितिले बैठकमा सहभागी नगराएकोमा स्ववियुले विरोध जनाएको छ । वैशाख २४ गते स्ववियुलाई सहभागी नगराई क्याम्पसको सञ्चालक समितिको बैठक बसी विभिन्न निर्णय गरेकोमा स्ववियुले आपत्ति जनाएको छ । स्ववियुका क्याम्पस अध्यक्ष यशोदा बोहरा र सचिव विक्रम साउदले संयुक्तरुपमा विज्ञप्ति जारी गरी बैठकमा सहभागी नगराएकोमा आपत्ति जनाउँदै विभिन्न माग सम्बोधन गर्न अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, `केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालन सम्बन्धी विधानको परिच्छेद ४ को दफा १७ मा क्याम्पस सञ्चालक समितिको गठन सम्बन्धी व्यवस्था गरिएको छ । दफा १७ को उपदफा ‘क’ को बुँदा नं.६ मा स्ववियु सभापति क्याम्पस सञ्चालन समिति सदस्य रहने स्पष्ट व्याख्या गरिएको छ तर उक्त क्याम्पस सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिलाई कुनै जानकारी नदिई बैठक सञ्चालन गरेकोमा क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासन प्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ। यस्ता बैठकहरूमा स्ववियु सभापतिको उपस्थिति अनिवार्य हुनुपर्नेमा त्यसो नगर्नु असंवैधानिक, अत्यन्तै दुर्भाग्यपूर्ण, अलोकतान्त्रिक र विधि विपरीतको कार्य हो।´

स्ववियुले यस्तो कार्य नदोहोऱ्याउन चेतावनी दिँदै क्याम्पस प्रशासनलाई तत्काल लिखित जवाफ सहित सार्वजनिक माफी माग्न भनेको छ । साथै ७ दिनभित्र पूरा गर्न भन्दै क्याम्पस प्रशासन र सञ्चालक समिति समक्ष ६ बुँदे माग राखेको छ । नियमित रूपमा विषय शिक्षकहरूबाट कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा भइरहेको राजनीतिकरणको अन्त्य गरी पठन पाठनको व्यवस्था मिलाउनुपर्ने, क्याम्पस प्रशासनद्वारा सार्वजनिक रूपमा माफी माग्दै आगामी दिनहरूमा सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिको उपस्थिति अनिवार्य गराउनु पर्ने, क्याम्पस प्रमुखद्वारा अवैधानिक ढङ्गले आफ्नै परिवारको सदस्यको उपप्राध्यापक पदमा नियुक्ति गरिएकोले यस्ता अवैधानिक नियुक्ति खारेज गर्नुपर्ने माग राखिएको छ ।
साथै वैशाख २४ गते बसेको बैठकमा शिक्षक कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको गुनासो राख्दा उल्टै सञ्चालक समितिका जिम्मेवार सदस्यले दुर्व्यवहार गर्दै जागिर छोड्न धम्की दिएकाले त्यस्ता सञ्चालक समितिका पदाधिकारीलाई तत्काल पदबाट हटाउनु पर्ने र क्याम्पस प्रमुख दीपकराज भण्डारीले २०८१ चैत १७ गते राजीनामा दिएकोमा २०८२ वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले अल्पमतबाट क्याम्पस प्रमुखको राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएकोले सो निर्णय अवैधानिक भएको ठहर गर्दै निर्णय खारेज गरी सञ्चालक समितिको बहुमत वा सर्व सहमतबाट क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने माग राखिएको स्ववियु अध्यक्ष यशोदा बोहराले बताइन् । माग पूरा नभए कडा आन्दोलन गर्ने उनले बताइन् ।
