
सुबास नेपाली
जेठ १, डोटी । डिभिजन बन कार्यालय डोटीले जैविक विविधता संरक्षणका लागि स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। पछिल्लो समय मानवीय क्रियाकलापका कारण जैविक विविधता नाश हुँदै जाँदा पारिस्थितिक प्रणालीमा असर पर्दै गइरहेको र प्राकृतिक स्रोतको अत्यधिक दोहन, बढ्दो सहरीकरण, भू उपयोगमा परिवर्तन, वन्यजन्तुको वासस्थान तथा वनको विनाश, गैर कानुनी सिकार तथा तस्करी, आगलागी, अत्यधिक चरिचरन,मानव वन्यजन्तु द्वन्द, मरुभूमीकरण र प्रदूषणका साथै विश्व उष्ण करणले सिर्जना गरेको जलवायु परिवर्तनका कारण पृथ्वीको जैविक विविधता सङ्कटमा परिरहेको डिभिजन बन कार्यालय डोटीले जनाएको छ । यस प्रकारका जैविक विविधता विनाशका कार्यलाई न्यूनीकरण गर्न स्कुल शिक्षा कार्यक्रम थालिएको डिभिजन बन कार्यालयका बन अधिकृत गोपी कृष्ण जोशीको भनाई रहेको छ।

जैविक विविधता संरक्षणका लागि विद्यालय स्तरबाट जनचेतना फैलाउने उद्देश्यले कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम लागु गरिएको बन अधिकृत जोशीले बताउनुभएको छ । पवित्र आवासीय मावि ,पद्म पब्लिक मुक्तिनारायण माविमा अरुणोदय मावि र तेडि मावि गरी ४ वटामा कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
जैविक विविधता मानव जीवन र अस्तित्वको आधार भएको र जैविक विविधताकै कारण हाम्रो पृथ्वी सजीव ग्रह तथा बस्न योग्य ग्रह बनेको भन्दै जैविक विविधताको महत्त्व बहु आयामिक रहेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूको बुझाई रहेको छ।
नेपालमा जैविक विविधताको महत्त्व विशेष रूपमा उच्च छ, नेपाल जैविक, भौगोलिक, र सांस्कृतिक विविधताले भरिएको हुँदा यहाँको जैविक विविधता राष्ट्रिय जीवन, आर्थिक विकास, र वातावरणीय सन्तुलनको लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ।जैविक विविधता संरक्षण गर्न डिभिजन बन कार्यालय डोटीले गरेको कार्यले थोरै मात्र भए पनि पर्यावरण संरक्षण सँगै प्राकृतिक श्रोत संरक्षणमा सहयोग पुग्ने देखिन्छ।
