आगामी आर्थिक वर्ष देखि डोटीमा एक पालिका एक उत्पादन कार्यक्रम लागु हुने

जेठ १०, डोटी । आगामी वर्ष २०८२/८३ मा डोटी जिल्लामा एक पालिका एक उत्पादन कार्यक्रम लागु गरिने भएको छ । कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र डोटीले आगामी वर्ष जिल्लामा एक पालिका एक कार्यक्रम लागु गर्ने योजना बनाएको शनिवार एक संयुक्त कार्यक्रमको आयोजना गरी जानकारी दिइएको छ ।

प्रदेश सरकारबाट नै यस्तो कार्यक्रम राख्न भनिएपछि डोटी जिल्लाका नौ ओटै पालिकामा आउने वर्षबाट कार्यक्रम लागु गरिने कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । केही दिन पहिला यस विषयमा जिल्ला स्थित सरोकारवालासँग छलफल गरेपछि कुन कार्यक्रम राख्ने भनी पालिकाहरूलाई पत्राचार गर्न लगाएर सोही अनुसार आज निर्णय गरिएको अवस्थीले बचाए। उनका अनुसार सानो लगानीमा धेरै कार्यक्रम समेट्दा कृषिमा राम्रो प्रतिफल नदेखिएकाले एकै कार्यक्रममा धेरै लगानी गर्दा प्रतिफल राम्रो देखिने हुँदा यस्तो कार्यक्रम ल्याइन लागिएको हो ।

Sayalb

जस अनुसार कृषि तर्फ दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाउँपालिकामा तरकारी खेती, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा फलफूल खेती, पुर्विचौकी गाउँपालिकामा भटमास, सायल गाउँपालिकामा आलु, बोगटान फुड्सिल गाउँपालिकामा बेसार र अदुवा (मसला बाली), जोरायल गाउँपालिकामा बासमती धान र बडीकेदार गाउँपालिकामा सुन्तला जातका फलफूल खेती कार्यक्रम लागु गरिने भएको छ ।

त्यस्तै भेटेरिनरी तर्फ दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा भैँसी पालन र आदर्श, सायल, बोगटान फुड्सिल, जोरायल र बडीकेदार गाउँपालिकामा बाख्रा पालन कार्यक्रम लागु गरिने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र डोटीका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए । उल्लेखित कार्यक्रमको लागि बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताइएको छ ।

Shaileshwori
Loading...