को हुन सामाजिक सञ्जालका “भाइरल वडाध्यक्ष” !

रामहरि ओझा 

जेठ १९, डोटी । गत चैत्र २८ गते सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । ‘जनतासँग जनप्रतिनिधि’ नाम दिइएको ३४ मिनेट लामो भिडियोमा सञ्चारकर्मी र वडाध्यक्षबिच संवाद छ ।

गाउँ ठाउँको वर्तमान अवस्था, जनप्रतिनिधिहरूप्रतिका जनगुनासाहरूलाई कलात्मक ढङ्गले व्यङ्ग्य गरिएको उक्त संवाद सामाजिक सञ्जालमा भाइरल भयो । “भाइरल वडाध्यक्ष” भन्दै धमाधम शेयर भयो उक्त भिडियो ।
भिडियोमा वडाध्यक्षको भूमिका निर्वाह गरेका व्यक्ति बैतडीको मेलौली नगरपालिका–२ का ३१ वर्षीय राकेश भट्ट “राजन” हुन् । पेसाले गाडी चालक भट्टले यसअघि विभिन्न नाटकहरूमा काम गरेका छन् । उनले डोटेली भाषाको नाटक “ण” मा ‘जग्वा सौकार’ भन्ने पात्रको भूमिका निर्वाह गरे । उक्त नाटक दर्शकले रुचाएपछि उनलाई डोटेली भाषाको फिल्म बनाउने सुर चल्यो । उनका साथी एवं सहयात्री गौरव जोशीसँग मिलेर ‘प्रेमगंगा’ नामक फिल्म बनाए । तर, उक्त फिल्ममा उनीहरूलाई सफलता मिलेन । उनी हाँस्दै भन्छन् ‘पैसा पनि स्वाहा भयो, फिल्म पनि चलेन ।’
कसरी आयो वडाध्यक्षको अभिनय गर्ने सोच !
वडाध्यक्षको भूमिका गर्छु भन्ने न सोचेका थिए, न त उनले कुनै स्क्रिप्ट नै तयार गरेका थिए राकेशले । त्यो दिन बैतडीबाट गाडी चलाएर कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए उनी । ‘महेन्द्रनगरमा साथी गौरव (भिडियोमा सञ्चारकर्मी) भेटिनु भयो, उहाँले अचेल आफूहरूसँग क्यामेरा पनि छ एउटा भिडियो बनाऔँ भन्नु भयो’ राकेश भन्छन् ‘मैले के मा बनाउने होला भन्ने सोच्दासोच्दै जनप्रतिनिधिहरूको बेथिति आयो दिमागमा, त्यसैमा बनाऊँ भने ।’
त्यसपछि खादा घाटीमा हाले र सुरु भयो भिडियो सुटिङ । साथी गौरव सञ्चारकर्मी भएर प्रश्न गर्न थाले, राकेश वडाध्यक्ष भएर उत्तर दिँदै गए । ३४ मिनेट लामो कुराकानी सकिएपछि राकेशले भिडियो हेरे एक पटक । आफ्नो अभिनयप्रति आफै हाँसे उनी ।
कसरी आयो त वडाध्यक्षको अभिनय गर्ने सोच ? राकेश भन्छन् ‘जनप्रतिनिधिहरूले अहिले गरिरहेका बेथितिहरूप्रति हामी सबै जानकार छौँ, आफू, आफ्ना नातागोता, पार्टीका कार्यकर्ता, गाउँका अलि पहुँच भएका व्यक्तिहरूलाई मात्रै फाइदा पुग्ने गरी काम गरिरहेका छन् ।’ राकेशले जनताले सामान्य काममा लागि पनि दुःख पाइरहेको, आफू जस्तै बेरोजगार युवाहरू छाक टार्नकै लागि बिदेसिनु परिरहेको तर जनप्रतिनिधिहरूले अकुत सम्पत्ति कमाइरहेको देखेपछि यो यो भिडियो बनाएको बताए ।
Sayalb
कुराकानीमा उल्लेख गरिएका पात्रहरूको विषयमा पनि पूर्व तयारी थिएन राकेशको । गौरवले प्रश्न गर्दै जाँदा उनले रितुकि इजा (आमा), धामी काका र भणाँरे काका पात्र प्रस्तुत गरे । उनी भन्छन् ‘तयारी केही थिएन, कुरा गर्दै जाँदा यस्ता पात्र र प्रवृत्ति पनि छन् समाजमा भन्ने लाग्यो अनि प्रस्तुत गरिदिएँ ।’ उनले अहिलेको समाज यस्ता यस्तै व्यक्तिहरूको हातमा भएको दर्साउन खोजेको बताए ।
‘भाइरल वडाध्यक्ष’ को भिडियो हेरेपछि एक महिलाले आफू रितुकी इजाको अभिनय गर्छु भनेर टिकटकहरू बनाएको राकेश बताउँछन् ।
‘जनप्रतिनिधिहरूले मनपरी गरिरहेका छन्, विकासका नाममा योजनाहरू मनपरी ढङ्गले बनाइरहेका छन्, घुस दिएर योजना हाल्नु पर्ने अवस्था छ’ राकेश प्रश्न गर्छन् ‘जनप्रतिनिधि भएको दुई वर्ष नपुग्दै ठुला सहरमा घर बनाउन सक्ने गरी कहाँबाट आउँछ त सम्पत्ति ?’ जनप्रतिनिधिहरूको यो बेथिति रोक्न जनता पनि सचेत हुनुपर्छ भन्ने सोचेर यो भिडियो बनाएको उनी बताउँछन् ।
उनी सञ्चारकर्मीहरूप्रति पनि असन्तुष्टि व्यक्त गर्छन्, भन्छन् ‘यति धेरै रेडियो छन्, पत्रकार–युटुवरहरु छन् तर जनताका समस्याहरू र जनप्रतिनिधिका बेथितिबारे कोही बोल्दैनन्, बरु कसको भैँसी ब्यायो, कसको बाख्रो हरायो भन्ने समाचार बनाउँछन् ।’
वडाध्यक्षको सपनामा आउँछन् राकेश 
‘यो भिडियो हेरेपछि तपाई मेरो सपनामा तीन/चार दिन आई सक्नु भयो, म तपाईँसँग भेटेर कुरा गर्न चाहन्छु’ केही दिनअघि एक जना वडाध्यक्षले फोन गरेर भनेको कुरा सम्झिन्छन् राकेश । ती वडाध्यक्षले भिडियो दोहोराई तेहराई हेरेको र भिडियोमा सत्य कुरा आएको भन्दै प्रशंसा गरेको राकेशको भनाई छ । उनी भन्छन् ‘धेरै जनप्रतिनिधिहरूले भिडियो हेरेर फोन गरेका छन्, राम्रै प्रतिक्रिया दिएका छन् ।’
अचेल नचिनेका मान्छेहरूले पनि उनलाई देखेपछि ‘भाइरल वडाध्यक्ष’ भनेर प्रशंसा गर्न थालेका छन् । राजेश भन्छन् ‘यसलाई मनोरञ्जनको रूपमा मात्रै होइन, सन्देशको रूपमा पनि बुझ्न म सबैलाई निवेदन गर्दछु ।’
Shaileshwori
Loading...