गिट्टी कुट्ने महिलाहरुका पीडा : दिनभरी हात चलायो, २ सय कमाई हुन्छ

६ पुष, डोटी

Sayalb

दिपायल सिलगढी नगरपालिका–९ की देवा साउँद गाउँ नजिकै सडक किनारामा गिट्टी कुट्नै गरेकी भेटिईन् । हिउँदको महिना पारिलो घाममा उनी धमाधम हात चलाउँदै थिईन् । घरी गिट्टी कुट्दा हतौडाको चोट औंलामा लाग्छ, उनी ऐय्या भन्दै औंला टट्काउँछिन्, फेरी कुट्न सुरु गर्छिन् । गिट्टी कुट्दा थिचिएका डाम छन् हातमा ।
‘नकुटी के गर्नु ! घरमा नुन तेल, बच्चाहरुको कापी कलम यसैवाट चलाउनु छ’ देवा भन्छिन् ‘बिहान घरको काम सकेर आउँछु, यता आएर गिट्टी कुट्छु ।’ उनी एक दिनभरी कुट्दा करीव चार कट्टा पुग्ने वताउँछिन् । ‘पोहर सालसम्म त एक कट्टा ५० रुपैयामा बिक्रि हुन्थ्यो, अचेल ६० रुपैयाँसम्म दिन्छन्’ देवाको भनाई थियो ।
निर्माण व्यवसायीले टिपरमा ढुुङ्गा ल्याएर थुपारिदिएका रहेछन् । देवा र अन्य महिलाहरु तिनै ढुङ्गा फोरेर गिट्टी वनाउँदै गुजरा चलाईरहेकी छिन् । गिट्टी कुट्दा उनीहरुसंग कुनै सुरक्षा सामग्री छैन । हतौडाले औंला कुटिनु उनीहरुका लागि सामान्य जस्तै भईसक्यो । कहिलेकाँही ढुङ्गा–माटोको टुक्रा आँखामा पर्छ । एकछिन् आँखा चिम्म गर्छिन्, आँशुसंगै कणहरु निस्केको महसुस गर्छिन्, फेरी निरन्तर हतौडा चलाउँछिन् ।
देवासंगै गिट्टी कुट्दै गरेकी थिईन् देउसरा साउँद पनि । देउसराले पनि गिट्टी कुट्दै आफ्नो घर खर्च चलाउँदै आएकी छन् । गिट्टी कुट्ने क्रममै गत बर्ष देउसराले आफ्नो छोरी गुमाईन् । हातले अलि परको खोलोतिर देखाउँदै उनले भनिन् ‘उ त्यो ठाउँमा हो मेरो छोरी च्यापिएको ।’
देउसरासंगै ९ बर्षीया छोरी आमालाई सघाउन ढुङ्गा बटुल्दै थिईन् । माथीबाट ढिस्को खस्दा उनको मृत्यु भयो । गिट्टीकै कारण छोरी गुमाएकी देउसरालाई फेरी पनि गिट्टी कुटिईरहन त कत्ति मन छैन, तर के गर्नु अर्को उपाय पनि त केही छैन नि !
छोरीको ज्यान जाँदा समेत कतैबाट कुनै सहयोग नपाएको उनी वताउँछिन् । ‘मलाई न नगरपालिकाले केही दियो, न वडा कार्यालयबाट’ आँखाबाट आँशु झार्दै देउसराले भनिन् ‘छोरीको ज्यान गएपछि केही दिन काममा पनि आउन सकिनँ, अव जान्न गिट्टी कुट्न सोच्थे ।’ तर घरखर्च चलाउने अर्को बाटो नभएपछि उनी केही दिनपछि फेरी गिट्टी कुट्न फर्किईन् । गिट्टी कुट्दै गर्दा छोरी सम्झिन्छन्, आँशु झार्छिन्, आफै आँशु पुछ्दै फेरी कुट्न थाल्छिन् ।
गिट्टी कुट्ने महिलाहरुकै टोलीमा भेटिईन् मनिषा (नाम परिवर्तन) पनि । गिट्टी कुटेरै घर परिवार धान्नु पर्ने मनिषाको जीवन पनि कष्टपूर्ण छ । ‘घर व्यवहार सवै धान्नु पर्ने, घरायसी काम पनि गर्नै पर्ने’ मनिषा भन्छिन् ‘जीवनको पीडा यस्तै छ, हाम्रा दुःख हामीसंगै छन् ।’ मनभित्र भएका दुःख पीडा लुकाउँदै हास्ने प्रयास गर्छिन् उनी ।
मनिषालाई आफुले गिट्टी कुटेर जीवन चलाउनुको पीडा भन्दा बढी पीडा छ श्रीमान्लाई समेत आफैले पाल्नु परेको । उनका श्रीमान् केही काम गर्दैनन्, बिहानैदेखि मदिरा सेवन गरेर डुल्छन् मात्रै । ‘मदिराको लतमा फसेका श्रीमान्को बानी सुध्रिन्छ कि भन्ने आशले काठमाण्डौंमा सुधार केन्द्रमा पनि राखे’ उनी भन्छिन् ‘नौ महिना सुधार केन्द्र राखेर पनि छुटेन् रक्सी ।’ देवरले सहयोग गरेर सुधार केन्द्रमा एक लाख ५० हजार रुपैयाँ खर्च गरिन् उनले तर श्रीमानले त बाहिर आएर फेरी पिउन सुरु गरे । श्रीमानको वानी सुधार गर्न उनले देउता, झाक्री, टुनामुना सवै उपाय अपनाईन् तर कुनै सीप चलेन ।
‘अव त मैले वास्ता गर्न पनि छोडिसकेँ, कति चिन्ता गर्नु भन्ने लाग्यो’ मलिन स्वरमा मनिषा शव्दहरु निस्किए ‘गर्न सक्ने प्रयास गरेँ, अव जे गरेपनि केही हुन्न भन्ने निश्कर्षमा पुगेकी छु ।’ उनी थप्छिन् ‘आफ्ना दुःख आफैसंग छन् कसलाई सुनाएर के हुने हो र !’
गिट्टी कुटेर परीश्रम अनुसारको ज्याला नपाउने गरेको महिलाहरुको गुनासो छ । डिकरादेवी साउँद भन्छिन् ‘दिनभरी गिट्टी कुट्यो, चार कट्टा हुन्छ, बिक्री गर्दा दुई सय रुपैयाँ आउँछ ।’ अहिले निर्माण व्यवसायीले गिट्टी थुपारिदिएका ढुङ्गा कुट्दै गरेकी डिकरादेवी यसको मुख्य कम हुने वताउँछिन् । ‘हामी आफैले ढुङ्गा खोजेर कुटौं भने एक ट्रली (ट्याक्टर) को चार हजार पाँच सय दिन्छन्’ डिकराले भनिन् ‘यो ठेकेदारले ल्याईदिएको हुँदा हामीले एक ट्रलीको तीन हजार रुपैयाँ मात्रै पाउँछौं ।’ एक ट्रली गिट्टी कुट्न एक जनालाई करीव १२ दिन लाग्ने गरेको डिकराको भनाई छ ।
गिट्टी कुट्दै एक–अर्काका दुःखसुख साँट्ने गर्छन् महिलाहरु । कहिले घरायसी गफ त कहिले पारिवारिक गफ । आफ्नो गाउँमा पानी समस्या भएको दुखेसो छ उनीहरुको । ‘जुन जुन टोलका अगुवा भएका छन्, नेता भएका छन् उनीहरुले आफ्नो टोलमा घरघरमा धारा वनाएका छन्’ डोटेली भाषामा देवा भन्छिन् ‘हाम्रो गाउँमा पनि घरघरमा धारा वनाउने भनेर नाम लेखेर गएका हुन्, अहिलेसम्म फर्केनन् ।’
चुनावको बेला भोट माग्न आउँदा नेताहरु अनेक सपना देखाउने तर जितेपछि वास्ता नगर्ने उनीहरुको गुनासो छ । ‘अव फेरी चुनाव हुने भन्यो कि सर ?’ एक महिलाले प्रश्न गरिन् । अर्की महिलाले थपिन् ‘अव त कसैलाई दिईन्न भोट ।’
‘पहिलेको भन्दा गाउँठाउँतिर विकास भएको छ, केही नभएको त होईन’ डिकरा भन्छिन् ‘तर दुःखी वेसहारा मान्छेलाई त सरकारले हेरिदिनु पर्ने थियो, हेर्दैन ।’
गिट्टी कुट्दै गर्दा छोरी गुमाएकी देउसरालाई कतैबाट सहयोग नभएकोप्रति महिलाहरुको दुखेसो छ । देवा भन्छिन् ‘दुःख परेको बेला त अलिकति सहयोग गर्नु पर्ने हो नि सरकारले ! साँझ बिहान के खाउँ भन्ने मान्छेले दुःख परेको बेला काम गर्न सक्दैन भन्ने त सोच्नु पर्ने होईन र ?’
गिट्टी कुट्दा सुरक्षाका लागि कुनै सामग्री प्रयोग गरेका छैनन् महिलाहरुले । उनीहरुलाई यस्ता सामग्रीहरु पनि हुन्छन् भन्ने जानकारी समेत छैन । डिकरा भन्छिन् ‘गिट्टी कुट्दा पनि के सुरक्षाका सामग्री लाउनु र ?’ बाक्लो पञ्जा, आँखामा चस्मा, खुट्टामा बुट, कानमा एयरप्लग जस्ता सामान हुन्छन नि भन्दा उनी भन्छिन् ‘दिनको दुई सयको कमाईले नुन तेलमै ठिक्क हुन्छ, कहाँबाट किन्नु यि सामग्रीहरु ।
तपाईहरुले कसैसंग यस्ता सामग्रीहरु चाहियो भनेर माग गर्नु भएको छ भन्ने प्रश्नमा उनीहरु भन्छन् ‘अहिलेसम्म हामीले कसैसंग पनि मागेका छैनौं ।’

Shaileshwori
Loading...