
चैत १, सिलगढी । डोटीमा इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन डोटी बहुमुखी क्याम्पस डोटीको आयोजना आइतबार विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, छोरीको सुरक्षा गर, न्याय किन्न पाइँदैन जस्ता नारा लगाएका थिए ।


शैलेश्वरी मन्दिर प्रवेशद्वारबाट नारा सहित निकालिएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडी हुँदै जिप्रका बजार र त्यहाँबाट पुनः फिर्ता भई जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भई सम्पन्न भएको थियो । विरोध प्रदर्शनमा डोटी बहुमुखी क्याम्पस तथा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढीमा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने विद्यार्थीहरूको भनाइ रहेको थियो ।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकैको सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो । यस घटनाले सुर्खेतसहित देशभरका नागरिकमा आक्रोश पैदा गरेको छ ।


