
चैत ९, डोटी । नेपालमा पहिलो पटक “सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता” सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, चौकुने गाउँपालिका सुर्खेतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
मार्च २२ बाट सुरु भएको प्रतियोगिता अप्रिल २ सम्म १२ दिन सञ्चालन हुने आयोजकले बताएको छ । हिजोबाट सुरु भएको प्रतियोगिता अन्तर्गत आजदेखि डोटीको दिपायल स्थित सेती नदिबाट जलयात्रा सुरु भएको छ । जलयात्रा अप्रिल १ तारिख सम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जोशीले जानकारी दिए । यस प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद २५ हजार र सिल्ड पुरस्कारको व्यवस्था रहेको जोशीले बताए । साथै यस पटक सहभागी भई विजेता भएकाहरू यसै गरी अर्को पटक यही समितिमा जोडिएर प्रतियोगितामा सहभागी हुन चाहेमा २५ प्रतिशत छुट पाउने छन् ।
प्रतियोगितामा नेदरल्याण्ड, युके, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी जम्मा २५ जनाको सहभागिता रहेको छ । प्रतियोगिहरुलाई चार ओटा समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताले यहाँका जल पर्यटकीय सम्भावनाको उजागर गर्ने सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले बताए । उनले भने, “विशेष गरी हिउँदको समयमा र्याप्टिङ गरेर साहसिक अनुभूति लिने, पर्यापर्यटनका क्रियाकलाप हुन्छन् र यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउछ ।” यस्तो पर्यटनलाई संस्थागत रूपमा विकास गर्न सकेमा सुदूरपश्चिमको आर्थिक विकास हुने उनको विश्वास छ ।
नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता आयोजना गर्न पाएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले खुसी व्यक्त गरे । यहाँको सम्भावनालाई उजागर गरी यहाँका नागरिकलाई लाभ मिलोस् भनेर प्रतियोगिताको आयोजना गरिएको उनले बताए । उनले भने, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पु¥याउने छ, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने छ ।” उनले यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षहरूलाई आफ्नो देशमा प्रचार गर्नेमा विश्वास व्यक्त गरे ।
प्रतियोगिता सञ्चालनमा अलोप्ट होटेल, बुद्ध एयर, सालिनी बाटीका, मकालु ट्रेडर्स, होटेल रिभरसाइट, कर्णाली र्याप्टिङ, वर्षा होटेल र खप्तड होमस्टेको पनि सहयोग रहेको छ ।

