

१ भाद्र, डोटी । सुदूरपश्चिम प्रदेश क्षेत्रमा आज अर्थात् भाद्र संक्रान्तिका दिन ओल्के पर्व (त्यार) मनाइदैछ । डोटेली संस्कृति अनुसार भाद्र १ गतेलाई ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन छ ।
वर्षामा खेतीपाती लगाउने कार्य गरिसकेपछि थकान मेटाउने र आपसी सद्भाव साटासाट गर्ने उत्सवको रुपमा मनाउने गरिन्छ । बर्षायाममा प्राकृतिक प्रकोप र झाडापखाला, हैजा जस्ता महामारीबाट बचेको खुशीयालीमा स्वरुप मनाईने यस पर्वमा आपसी सद्भाव बाँड्ने चलन रहेको छ ।
‘ओल्के’ अर्थ मान्यजनलाई सम्मान गर्नु भएको जानकारहरु बताउँछन् । पर्वको अवसरमा विभिन्न देवस्थलहरुमा देवताको आह्वान स्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) को थापना गर्ने चलन पनि रहेको छ । उक्त बुढी असोज संक्रान्तिका दिन जलाईन्छ । किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
मान्यजनलाई पिडालुका पात, काँक्रा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ । ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । पौराणिक मान्यता अनुसार आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएका वताईन्छ ।

