डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना, गृह मन्त्रालयका प्रवक्ता काफ्लेद्धारा उद्घाटन

वैशाख  २, डोटी । डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालयको स्थापना भएको छ । जिल्ला सदरमुकामदेखि दक्षिणी भेगका तिन वटा स्थानीय तहलाई लक्षित गर्दै विपिन रमा कार्यालयको स्थापना गरिएको हो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ माघ १० गते डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

आज इलाका प्रशासन कार्यालयको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले उद्घाटन गरेका हुन् । बडीकेदार गाउँपालिका वडा नम्बर १ का स्थानीय सोविता बोहरालाई नागरिकताको प्रमाणपत्र प्रदान गरी सेवाको शुभारम्भ गरिएको हो ।

यहाँ इलाका प्रशासन कार्यालयको स्थापना भएसँगै जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिका पुरै तथा बोगटान फुड्सिल गाउँपालिकाका तीन ओटा वडा (१, २ र ३) का स्थानीयले सेवा पाउने भएका छन् । भौगोलिक विकटताका कारण सेवाग्राहीलाई सेवा लिन असहजता तथा आर्थिक रूपले बढी खर्चिलो हुने समस्यालाई मध्यनजर गरी इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

Sayalb

अब यहाँका नागरिकहरूले हाल नागरिकता लगायतका कामकालागि सदरमुकाम सिलगढी पुग्नु पर्ने बाध्यता हटेको छ । कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, तथा राष्ट्रिय परिचयपत्र लगायतका सेवा आजैबाट प्रदान गरिन सुरु गरिएको र केही समयपछि राहदानी सेवा लगायतका अन्य सेवा पनि सुचारु गरिने कार्यालय प्रमुख लाल बहादुर बोगटीले बताएका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...