डोटीमा बाल न्याय सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

असार २१, डोटी । डोटीमा बाल न्याय सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय डोटीको सभा हलमा वकालत मञ्च (एड्भोकेसी फोरम) को आयोजनामा बाल न्याय समितिका पदाधिकारी तथा सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वकालत मञ्चका कानुन अधिकृत पुष्प विक्रम शाहीले बाल न्यायका विद्यमान चुनौती र समस्याको समाधानका उपाय पहिल्याउनु कार्यक्रमको उद्देश्य रहेको बताएका छन् । उनलेे डोटी सहित नेपालभरिका बाल सुधार गृहहरूको अवस्था, समस्या, चुनौती र विद्यमान कानुनी प्रावधानका बारेमा तयार पारिएको प्रस्तुति राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा अधिवक्ता लवदेव भट्टले डोटीमा रहेको सुदूरपश्चिम प्रदेशकै एक मात्र बाल सुधार गृहको राम्रो भवन हुन नसक्नु दुखद रहेको बताए । साँघुरो ठाउँमा बालबिज्या लाई राख्दा उनीहरूका अधिकार कुण्ठित भएको उनको भनाइ थियो । विगत देखि स्थानान्तरणको कुरा चले पनि ढिलाइ भएकोमा उनले गुनासो गरे ।

बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले हाल गृहमा ३७ जना रहेको बताइन् । सुधार गृहमा विभिन्न घटनाका आरोपित भए पनि घटनाको पछाडि लागू औषध कारण रहेको लिम्बुको भनाइ रहेको छ । लागू औषध प्रयोगकर्ताले अस्वाभाविक हरकत देखाउने तर उनीहरूको उपचारार्थ कुनै व्यवस्था नहुँदा समस्या सिर्जना भएको उनले बताइन् । बालबालिकाको पढाइका लागि सुधार गृहमा दिपायल सिलगढी नगरपालिकाले एक जना शिक्षकको व्यवस्था गरिदिएको भए पनि पर्याप्त नरहेको बताइन् ।

Sayalb

डोटी जिल्लाका प्रहरी उपरीक्षक सागर बोहराले सुधार गृहमा १८ वर्षसम्मका लाई मात्र राख्नुपर्ने भए पनि २५ वर्ष सम्मका हुँदा समस्या भएको बताएका छन् ।  त्यहाँ रहेकाहरूलाई बढीभन्दा बढी मनोसामाजिक परामर्श दिन आवश्यक रहेको बोहराको भनाइ छ । बाल अधिकार कुरा सँगै अभिभावकहरूलाई  उत्तरदायित्वको शिक्षा दिन जरुरी रहेको उनले औँल्याए ।

जिल्ला अदालत डोटीका न्यायाधीश परमानन्द पाण्डेयले कानुन बनेर मात्रै नहुने हुँदा कार्यान्वयनको पाटो छिटो हुनुपर्ने बताए । बालबालिका कुनै घटनामा जोडिए १२० दिनमा मुद्दाको फैसला हुनुपर्ने  प्रावधान रहे पनि विभिन्न कारणले डोटीमा एक जनाको अढाई वर्षसम्म पनि फैसला हुन नसकेक‍‍ो उदाहरण प्रस्तुत गरे । उनलाई सामूहिक बलात्कारको आरोप लागे पनि डिएनए रिपोर्ट नआउँदा फैसला हुन नसकेको बताए ।

बालबालिकाको न्याय जस्तो संवेदनशील कुरामा सबै निकाय सहज भइदिनुपर्ने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले बताएका छन् । हालको बाल सुधार गृहको भवन सानो तथा पर्याप्त खेल मैदान जस्ता आधारभूत कुरा नहुँदा जिल्ला शिक्षा समन्वय इकाई डोटीको भवनमा सार्ने कुरा चलेको लामो समय हुँदा पनि केही व्यक्तिका स्वार्थका कारण सम्भव हुन नसकेको बताए । बाल अधिकार र न्यायका लागि आफू सधैँ संवेदनशील रहेको प्रमुख खड्काको भनाइ रहेको छ ।

बाल सुधार गृहको स्थायी समाधानका लागि प्रयास जारी रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । बाल सुधार गृहमा अभिभावक र त्यहाँ रहेका बालबालिकाको भेटघाटका लागि छिट्टै भेटघाट कक्ष बनाइने उनले बताइन् । सुधार गृहमा रहेमा रहेका १८ वर्ष भन्दा माथिकालाई घरेलुसँग समन्वय गरेर सिलाइ कटाइ तालिम दिइएको घिमिरेले बताइन् । हाल सुधार गृहमा दिउँसोको खाजाको अभाव रहेकोमा त्यसको पहल भइरहेको प्रजिअ घिमिरेको भनाई छ ।

Shaileshwori
Loading...