

२२ असार, डाेटी । तोकिएको समयसिमाभित्र काम सम्पन्न गरेको भन्दै डोटीको बोगटान फुड्सिल गाउँपालिकाले एक निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
सहजपुर–बोगटान–राजपुर सडक अन्तरगत बोगटान फुड्सिल गाउँपालिका–४ र ७ को बिचमा पर्ने टुँडागाडमा मोटरेवल पुल वनाउने शिद्धनाथ जय भगवती जेभीलाई गाउँपालिकाले सम्मान गरेको हो । सम्झौता पत्रमा तोकिएको मितिभित्रै निर्माण व्यवसायीले काम सम्पन्न गरेको हुँदा उनलाई हौसला प्रदान गर्न सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमलवहादुर गडसिलाले वताए । “डोटीमै धेरै पुलहरु ठेकेदारले बर्षौंदेखि अल्पत्र पारेका छन्, पटक पटक आवाज उठाउँदा पनि न सम्वन्धित निकायले सुन्छ, न ठेकेदारले” अध्यक्ष गडसिलाले भने ‘तर यि ठेकेदारले तोकिएको समयभित्रै पुल निर्माण गरेकाले गाउँपालिकावासीको तर्फबाट सम्मान गरियो ।’
गाउँपालिकाले निर्माण कम्पनीका प्रतिनिधि भानु बोहरालाई दोसल्ला र प्रमाणपत्र–द्वारा सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष बिष्णादेवी बमले जानकारी दिईन् । दुर्गम क्षेत्रमा विविध चुनौतीका बावजुद पनि समयमै पुल निर्माण भएकोप्रति उनले खुशी व्यक्त गरिन् ।
उक्त पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतको पुर्वाधार बिकास कार्यालय, डडेल्धुरा र निर्माण व्यवसायी कम्पनीबिच २०८२ साल असार ३ गते सम्झौता भएको थियो । कुल पाँच करोड १५ लाख ६२ हजार नौ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल गत असार २ गतेभित्र सम्पन्न हुनु पर्ने थियो । पुलको लम्वाई २५ मिटर रहेको छ । निर्माण व्यवसायीले उक्त पुल जेठभित्रै सम्पन्न गरेको स्थानीयवासीहरु वताउँछन् ।
टुँडागाडमा पुल नहुँदा बर्षाको समयमा बोगटान क्षेत्रको बाटो अवरुद्ध हुने गरेको थियो । पुल निर्माण भईसकेपछि जिल्ला सदरमुकाम र अन्यत्र जानका लागि बाह«ैमास यातायात सेवा लिन सकिने वताउँछन् स्थानीय अनिल बम । पुल निर्माण भएपछि स्थानीयबासीहरुले खुशी व्यक्त गरेको बमको भनाई छ ।
