चक्र मल्लको राजनीतिक यात्रा : प्रतिकुलतामा अनुकुलता, अनुकुलतामा प्रतिकुलता

Sayalb

३१ साउन, डोटी । सुदूरपश्चिम प्रदेशले नयाँ सरकार पाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता भट्टलाई शुक्रवार प्रदेश प्रमुख नाजिर मिँयाले संबिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले सोही दिन एमालेका चार प्रदेशसभा सदस्यहरुलाई मन्त्री नियुक्त गरे । मन्त्री हुनेहरुमा सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम रहेका छन् । मन्त्रीहरुले पनि शुक्रवारै शपथ लिए ।
२०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा डोटी प्रदेश सभा निर्वाचन क्षेत्र–१ बाट निर्वाचित चक्रवहादुर मल्लका लागि संसदीय कार्यकालका झण्डै चार बर्ष व्यतित् गरेपछि मन्त्री पद अनुकुल भएको छ । मल्लको राजनीतिक यात्रा सधैं प्रतिकुलतामा अनुकुलता र अनुकुलतामा प्रतिकुलता जस्तो देखिन्छ ।
२०३७ साल बैशाख २० गते डोटीको आदर्श गाउँपालिका–३ झुँडामा जन्मिएका मल्लले १२ बर्षकै उमेरमा आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरे । जिल्लाभरी नेपाली कांग्रेसको दवदवा भएका बेला २०४९ सालमा उनले कम्युनिष्ट राजनीतिक बिचार रोजे । शिखर नगरपालिका–९ स्थित सिताराम माविमा अध्ययनरत मल्ल एमाले निकट अनेरास्ववियुको बिद्यालय कमिटी सदस्यबाट राजनीतिको सुरुवात गर्छन् । २०५१ सालमा उनी राधाकृष्ण मावि गोपघाटमा पढ्दा बिद्यालय कमिटी अध्यक्ष बने । चारैतिर कांग्रेसकै माहोल भएको गोपघाट जस्तो ठाउँमा त्यतिबेला अन्य संगठनहरुका लागि प्रतिकुल परिस्थिति थियो, तर, मल्लले संगठन बनाउन अनुकुल वनाए ।
अनेरास्वबियुको डोटी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म पुगेका मल्ल २०५५ सालमा डोटी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सभापति पदको उम्मेदवार हुँदै पहिलो पटक चुनावी प्रतिस्पर्धामा गए, तर उनी पराजित भए । २०५७ सालमा उनी फेरी सोही पदमा उम्मेदरवार बने, त्यसबेला उनका लागि अनुकुल वातावरण बन्यो, उनी जिते ।
त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर गरेका मल्लले शाहीकालमा केही समय डोटी क्याम्पसमा अध्यापन गरे । अध्यापन पेशा छोडेर उनी फेरी सक्रिय राजनीतिमै फर्किए । २०६४ सालतिर नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका मल्ल २०६६ सालमा जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भए । उनी २०६९ मा एमाले डोटी जिल्ला अध्यक्षमा निर्वाचित भए ।
२०७० सालमा भएको दोश्रो संबिधान सभा सदस्य निर्वाचनमा मल्ल उम्मेदवार हुने दौडमा थिए । तर उनले टिकट पाएनन् । नयाँ संबिधान जारी भएपछि २०७४ सालमा भएको प्रदेश सभाको पहिलो निर्वाचनमा मल्ल डोटी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र–१ बाट उम्मेदवार बने । एमाले र साविक नेकपा माओवादीबीच चुनावी गठवन्धन भएको थियो, देशैभरी गठवन्धनका लागि अनुकुल माहौल थियो, तर मल्लका लागि उक्त माहौल प्रतिकुल वन्यो । डोटीको प्रतिनिधि सभा सिट र प्रदेश सभा क्षेत्र–२ गठवन्धनले जित्दा मल्ल पराजित भए ।
२०७९ सालमा भएको निर्वाचनमा मल्लको चाहना प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने थियो । उनले टिकटका लागि धेरै दौडधुप पनि गरे । तर, उनले खाजेको टिकट पाएनन् । उनले फेरी प्रदेश सभामै प्रतिस्पर्धा गर्नु पर्ने भयो । यस पटक एमालेका लागि परिस्थिति प्रतिकुल थियो, कांग्रेस, साविक माओवादी र नेकपा एकिकृत समाजवादीको चुनावी गठवन्धन थियो । एमाले एक्लै चुनावी मैदानमा थियो । तर मल्लका लागि परिस्थिति अनुकुल भईदियो । प्रतिनिधि सभा सिट र प्रदेश सभा क्षेत्र–२ मा गठवन्धन जित्दा प्रदेश सभा क्षेत्र–१ मा चल्लले आफ्नो पक्षमा परिणम ल्याए ।
चुनावपछि एमाले नेतृत्वमै प्रदेश सरकार बन्यो, मल्ल मन्त्री हुने चर्चा चुलियो तर उनका लागि परिस्थिति अनुकुल वनेन । त्यसपछि पनि हरेक पटक सरकार फेरिदाँ मल्ल मन्त्री हुने चर्चा चल्यो, अहँ उनका लागि अनुकुल भएन ।
गत बर्ष भाद्र २३ र २४ गते भएको जेनजी बिद्रोहपछि गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी प्रदेश सभा सदस्य पद त्यागेर चुनाव लड्न चाहान्थे । उनले दौडधुप पनि खुवै गरे, तर परिस्थित उनको पक्षमा भएन । उनलाई पार्टीले टिकट दिएन ।
गत जेठ २५ गते त उनी मन्त्री नियुक्त भएको चर्चानै चल्यो । एमाले प्रदेश संसदीय दलमा उनी मन्त्री हुने सहमति नै भयो । सामाजिक सञ्जालमा बधाईको ओईरो लागेको थियो, तर फेरी परिस्थिति प्रतिकुल भयो । उनी मन्त्री भएनन् ।
२०८१ साल असारमा कांग्रेस–एमालेबीच सत्ता साझेदारीका लागि भएको गठवन्धन दुई बर्षपछि गत असारमा भत्कियो । अव एमाले सवै प्रदेशमा सत्ता बाहिरै बस्नु पर्ने परिस्थिति थियो । तर, एकाएक फेरी एमाले र नेकपाबीच प्रदेश सरकारका लागि भागवण्डा भयो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने र एमाले पनि सरकारमा सहभागी हुने सहमति भएपछि मल्लका लागि मन्त्री बन्ने परिस्थिति अनुकुल वन्यो । उनी मन्त्री भए ।

Shaileshwori
Bolpatra
Loading...