जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत इन्सपेक्टर सहितका ४ जना प्रहरी पुरस्कृत

डोटी : जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिह र दिनेश सुनार रहेका डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियुक्त भागेपनि प्रहरीको सक्रियताले पुनः पक्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए ।
बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहोरा गएराति भागेका थिए । बोहोरालाई प्रहरीले शुक्रबार बिहान पूर्वीचौकी गाउँपालिका क्षेत्रबाट पक्राउ गरेको थियो ।
