डोटीमा स्कारपियो दुर्घटना हुँदा एक जना घाइते

सीता महता /डोटी
डोटीमा स्कारपियो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमवार बिहान साढे सात बजेको समयमा धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु।प।प्र ३०१०२४ च १७८४ नम्बरको स्कारपियो पहलमान सिँह स्वार राजमार्ग अन्तर्गत डोटीको पुर्वीचौकी गाउँपालिका-४ सानागाउ स्थित मोडमा मोडने क्रममा एक्कासी सडकमै पल्टिन गई दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परि अछामको साफेँबगर नगरपालिका-२ का अन्दाजी ३२ बर्षिया अनिता गहतारा घाईते भएको प्रहरीले जनाएको छ । घाईते गहताराको बाँया खुट्टा र हातमा सामान्य चोट लागेको र उपचारको लागी जिल्ला अस्पताल डोटी ल्याईएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दले जानकारी दिनुभयो ।
स्कारपियोमा चालक कैलालीको गौरीगंगा नगरपालिकाका ३७ वर्षिय गोवरीराम चौधरी सहित पाँच जना सवार थिए । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । स्कारपियोमा सामान्य क्षति भएको छ ।
