सायल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

प्रेम नेपाली, डोटी
डोटीको सायल गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म अन्तरास्ट्रिय स्तरमा नै मनाउदै आईरहेको उक्त अभियान यस वर्ष पनि विभिन्न कार्यक्रमका बीच संचालन गरेको गाउँपालिका उपाध्यक्ष बिस्ना देवी सिंहले बताएका छन ।
घरैबाट शुरु गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ, मर्यादित महिनावारी पहिलो आवश्यकता, लैङ्गिक हिंसा बिरुद्ध हाम्रो ऐक्यबद्धता भन्ने मुल नाराका साथ यस वर्षको अभियान सायलका ६ ओटै वडाहरुमा अन्तरक्रियाको माध्यमबाट संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिस्ना देवी सिंहले लैङ्गिक हिंसा विरुद्धको यो अभियानको सुरुवाती बिगत धेरै वर्ष पहिले भएको भएपनी, लैङ्गिक हिंसा बिरुद्धको आवाज संबिधानमा मात्र सिमित रहेकाले आफुहरु निर्वाचित भएपछी विभिन्न वडाहरुमा प्रत्यक वर्ष उक्त अभियान संचालन गर्दै आइरहेको बताईन् । साथै उनले यो अभियान वर्षको १६ दिन मात्र संचालन गरेर विभिन्न खालका हिंसाको न्यूनीकरण तथा अन्त्य नहुने भएकोले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


उनले आफू गाउँपालिका न्यायिक समिती संयोजक पनि रहेकोले पालिकाका जुनसुकै वडाका महिला या पुरुषलाई लैङ्गिक हिंसा, घरेलु हिंसा, बालबालिका अन्यलाई कहि कतै अन्याय, दमन, शोषण, विभेद तथा दुर्व्यवहार नगर्न र कसैले गरेको थाहा पाए सहेर नबस्न पनि आग्रह गरे । आफू सबैको घरदैलोमा पुग्न नसक्ने र यदि कसैले हिंसा हुनेखाले गतिविधि गर्छ भने त्यस्ता ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याएर कार्वाही गर्न पनि आफू पछि नहट्ने उनको जिकिर थियो ।

साथै उक्त कार्यक्रममा लैङ्गिक हिंसा हुनेखाले कसैले दुर्व्यवहार गरेमा वा कुनै महिला चेलीबेटीलाई बलात्कारको प्रयास गरेमा कसरी बच्ने भनेर प्रशिक्षक सागर नागरीले प्रशिक्षण गरेका थिए । कार्यक्रममा लोक डेउडा गायक प्रेम नेपालीले पनि लैङ्गिक हिंसा बिरुद्ध गितको माध्यमबाट सन्देश दिएका थिए ।

