ओलीलाई देउवाले भने, “संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं”

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।

Sayalb

भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत रहन्छ भनेका छन् ।

एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उधिृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्ता पक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।’

केही सम्झौता संसद्लाई जानकारी दिएमा मात्रै पनि कार्यान्वयनमा जाने भए पनि एमसीसीलाई कार्यान्वयनमा लैजान भने संसद्को बहुमतले अनुमोदन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माण, स्तरोन्नति, विद्युत् उत्पादन तथा ट्रान्समिसन लाइन जडानका लागि अमेरिकाले ४५ करोड ९५ लाख अमेरिकी डलर र नेपालले १३ करोड अमेरिकी डलर लगानी गर्ने एमसीसी सम्झौतामा छ । सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नासले सम्झौतामा हस्ताक्षर गरेका थिए । परियोजनाका लागि नेपाल सन् २०११ मा छनोट भएको थियो ।

Shaileshwori
Loading...