एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको छ: मन्त्री ज्ञानेन्द्र कार्की

नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको बताएका छन्।

‘संसदलाई कसरी सुचारू गरिने, एमसिसीलाई कसरी संसदमा लैजाने भन्नेबारे छलफल भयो,’ बिहीबार साँझ गठबन्धन बैठक सकिएपछि पत्रकारहरूसँगै कुरा गर्दै मन्त्री कार्कीले भने, ‘थप छलफल गर्न भोलि १० बजे बैठक बस्छ। प्रधानमन्त्रीले फागुन १६ भित्र एमसिसी पारित गर्नुपर्छ भन्नुभएको छ। छलफल त्यही दिशामा छ।’

यद्यपि भोलि बस्ने संसद बैठकमा भने एमसिसी टेबल नहुने भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।

Sayalb

‘बैठक सकिएको छ। एमसिसी भोलि पनि टेबल नगर्ने सहमति भएको छ,’ ती नेताले भने, ‘अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं, गठबन्धन भरसक नटुटाऔं भन्ने छ।’

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी विपक्षमा उभिएको छ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। उनीहरूबीच आधा घन्टा जति कुराकानी भएको थियो। एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छाड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका थिए।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।

Shaileshwori
Loading...