
डोटी : डोटीमा स्थानीय वन ऐन, नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ डोटीले मङ्गलवार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
डोटीमा रहेका सामुदायिक वनको अवस्था, सामुदायिक वनका लागि स्थानीय तहले छुट्ट्याएको रकम, वन ऐनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, धेरै जसो वन नवीकरण गर्न बाकी रहेकाले नवीकरण गर्नका लागि भएका प्रावधान लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, सभापति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ डोटीका अध्यक्ष कृष्ण मलासी तथा विशिष्ट अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल रहनुभएको थियो ।
यस्तै गत वर्ष आगो निभाउने क्रममा जलेर मृत्यु भएका शिखर नगरपालिकाका लक्षि भुलका आफन्तलाई बिमा मार्फत प्राप्त भएको रु एक लाखको चेक हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिले मृतक भुलका छोरा खडक भुललाई चेक हस्तान्तरण गरेका हुन् ।
