बुडरमा औद्योगिक ग्राम निर्माण हुदै

Sayalb

डोटी भदौ २४
डोटीको जोरायल गाउँपालिका–२, बुडर औद्योगिक ग्रामको निर्माण कार्य भइरहेको छ । २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने निर्णय भए सँगै औद्योगिक ग्राम निर्माण गर्ने भएको क्षेत्रमा भौतिक सँरचना निर्माण कार्य भइरहेको हो ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार सँघिय सरकारबाट आर्थिक बर्ष २०७६/०७७ मा ९२ लाख रुपियाँ निकासा आएकोमा करिब ८३ लाख ६० हजार खर्च भएको छ । अध्यक्ष ओझाले भन्नुभयो,–‘औद्योगिक ग्राम निर्माणका लागि यस बर्ष खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबार लगायतका सँरचनाको निर्माण भइरहेको छ । बहुबर्षिया योजना भएका कारण बाँकी यस आर्थिक बर्षमा हुन नसकेको काम आगामी बर्ष हुने छ ।’
बुडरमा ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका भइरहेको छ । औद्योगिक ग्राम भित्र निर्माण गर्न सकिने उद्योगहरुको अवस्थालाइ मध्यनजर गर्दै ५ सय रोपनी सम्म जग्गा लिने तयारी भइरहेको बताइएको छ ।
औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरि लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी उद्योग स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने औद्योगिक ग्राम निर्माणको उद्देश्य रहेकोमा बताईको छ ।
बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । जोरायल गाउँपालिकाको पहल पश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृत गराउनु भएको हो ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु प्रबेश गर्ने प्रबेशद्वारको रुपमा रहेको बुडरमा निर्माण हुदै गरेको औद्योगिक ग्राम नमूनाको रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले वताउनु भएको छ । सो औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिकाका स्थानीय बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Shaileshwori
Loading...